• ७ असोज २०८२, मङ्गलबार

युक्रेनी नागरिकमाथि ‘व्यवस्थित यातना’ गरेको भन्दै राष्ट्रसङ्घद्वारा रुसको निन्दा

blog

जेनेभा, असोज ७ गते । रुसी अधिकारीले युक्रेनी नागरिक बन्दीहरूलाई ‘व्यापक र व्यवस्थित ढङ्गले’ यौन हिंसासहित यातना दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयको ताजा प्रतिवेदनले सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण सुरु भएयता रुसले युक्रेनी नागरिक बन्दीलाई अन्तर्राष्ट्रिय कानुनको ‘गम्भीर उल्लङ्घनको लगातार ढाँचामा’ राखेको निष्कर्ष निकालेको हो ।

सन् २०२३ जुनयता कब्जा गरिएका क्षेत्रबाट रिहा भएका दुई सय १६ सर्वसाधारणको अन्तर्वार्तामा, ९२ प्रतिशतले ‘कैद अवधिमा यातना वा दुर्व्यवहार’ भोगेको विवरण दिएका छन् । लाठी, बिजुलीको झटका, नक्कली मृत्युदण्ड, मृत्युको धम्की, अपमान र विभिन्न तनावपूर्ण अवस्था त्यस्ता विधिमा समावेश थिए ।

प्रतिवेदनमा भनिएको छ, “धेरै अन्तर्वार्ता लिनेले नजरबन्द अवधिभर धेरै प्रकारका यातना वा दुर्व्यवहार सहनु परेको विवरण दिएका छन् ।” सन् २०२५ मेमा युक्रेनी अधिकारीले करिब एक हजार आठ सय नागरिकलाई रुसले हिरासतमा राखेको रिपोर्ट गरे पनि वास्तविक सङ्ख्या अझ बढी हुनसक्ने चेतावनी दिइएको छ । 

कानुनी सुरक्षाको बेवास्ता र जवाफदेहिताको अभावले बन्दीलाई संरक्षणबाहिर राखेको प्रतिवेदनले औँल्याएको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले भन्नुभयो, “मानिसलाई कब्जा गरिएका क्षेत्रमा सडकबाट जबर्जस्ती उठाइयो, कानुनी आधारविनै स्थानान्तरण गरी आरोप लगाइयो र लामो समयसम्म कैद गरियो ।” उहाँले शान्ति वार्तामा बन्दीहरूको मानव अधिकारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

प्रतिवेदनले युक्रेनी अधिकारीहरूले हिरासतमा लिएका नागरिकमाथि पनि ‘यातना र दुर्व्यवहार’का केही घटना दर्ता गरेको छ । जुलाईको अन्त्यसम्म युक्रेनले पूर्व-परीक्षण र दण्ड सुविधामा दुई हजार दुई सय ५० भन्दा बढी द्वन्द्व-सम्बन्धित कैदी राखेको बताइएको छ, जसमा अधिकांश युक्रेनी नागरिक थिए ।

युक्रेनले आफ्ना नागरिकलाई राजद्रोह, जासुसी र रुसी कब्जा अधिकारीसँग सहयोग गरेको अभियोगमा हिरासतमा लिएको पाइएको छ । प्रतिवेदनले कब्जाका समयमा आपत्कालीन सेवा, निर्माण, मानवीय राहत र फोहोर व्यवस्थापनमा संलग्न सामान्य कामलाई समेत मुद्दा लगाइएको उल्लेख गरेको छ । रासस/एएफपी