• ७ असोज २०८२, मङ्गलबार

कांग्रेस नेताका एक सय एकतिस घर तोडफोड

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, असोज ७ गते । जेनजीको आन्दोलनका क्रममा नेपाली कांग्रेसका १३१ नेताका घरमा आगजनी र तोडफोड भएको छ । भदौ २४ गते प्रदर्शनकारीले सानेपास्थित केन्द्रीय कार्यालय र ४८ जिल्लाका पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिसहित ३६ नेताका घरमा तोडफोड र आगजनी गरिएको छ । उहाँले जिल्ला र स्थानीय तहका ९५ नेताका घरमा पनि तोडफोड र आगजनीबाट क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यालय आगजनीबाट ध्वस्त भएको छ । कुनै पनि सामान जोगिएन । १० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।”

उहाँका अनुसार सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणाको काठमाडौँ बुढानीलकण्ठ र धनगढीमा रहेका घर तोडफोड र आगजनी भएको छ । उपसभापति पूर्णबहादुर खड्काको बुढानीलकण्ठस्थित घर र महामन्त्री गगनकुमार थापाको रातोपुलस्थित घर, महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरस्थित भाडाको घर र झापाको धुलाबारीस्थित घरमा तोडफोड र आगजनी भएको छ ।

सहमहामन्त्री उमाकान्त चौधरीको बारास्थित घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषास्थित घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको डेरामा रहेका सामान आगजनी गरिएको, कोषाध्यक्ष उमेश श्रेष्ठको चितवनस्थित दुई वटा घर र केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको घर तोडफोड गरिएको छ । 

नेता विश्वकर्माका अनुसार केन्द्रीय सदस्य प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित गणेशमान सिंह निवास, केन्द्रीय सदस्य विमलेन्द्र निधिको घर, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. रामशरण महत, केन्द्रीय सदस्य डा. शेखर कोइरालाको विराटनगरस्थित बिपी कोइरालाको निवाससहित नेताका घरमा तोडफोड र आगजनी गरी ध्वस्त बनाइएको छ । उहाँले जेनजी पुस्ताले उठाएका माग आमनेपालीका माग भएको प्रस्ट पार्दै जेनजीले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको उच्चतम व्यावहारिक अभ्यास भएको बताउनुभयो ।