सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा) असोज ७ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण करिब नौ घर जोखिममा परेका छन् । केही दिनयता लगातार परेको वर्षका कारण तलबाट पहिरोले बस्ती नै तानेपछि साँगुरीगढीका नौ घर जोखिममा परेका हुन् ।
पहिरोले कारण मोक्तेनका केवलप्रसाद मगर, मोहन मगर, विष्णबहादुर मगर, कुमारी मगर, राजकुमार मगर, भीमबहादुर मगर, प्रेमबहादुर मगर, रणबहादुर मगर र ज्ञान रानाको घर पूर्णरुपमा जोखिममा परेका छन् ।
यस्तै, घरहरुसँगै एउटा सामुदायिक चर्चसमेत जोेखिममा छ । रवि–राँके सडक निर्माणका कारण तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु जोखिममा परेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । पहिरोका कारण नौ घर जोखिममा परेका छन् भने ४२ जना घरपरिवार सङ्ख्यालाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको अध्यक्ष रुम्दाली राईले जानकारी दिनुभयो ।
गत साल नै लगातार वर्षाका कारण घरहरु केही मात्रामा कमजोर भएका थिए । केही दिन यता वर्षसँगै गएको पहिरोले कमजोर भएका घरहरु तलबाट पहिरोले बस्ती नै तान्दा घरहरु पूर्णरुपमा जोखिममा परेका हुन् । निर्माणाधीन रवि–राँके सडक खण्डमा पर्ने मेक्तेनका बस्ती नै यतिबेला अन्यत्र सुरक्षित स्थानान्तरण गरिएको छ । पहिरोले बस्ती तन्दा घरहरु भत्किएका, चिरा परेका र कतिपय घरमा बस्न नमिल्ने अवस्था भएकाे छ । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उनीहरुलाई स्थानान्तरण गरिएको हो ।
यता प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने विपत् जोखिममा परेकाहरुलाई तत्काल उद्धारका लागि सुरक्षाकर्मी खटाइएको बताउनुभयो । राहतका लागि सम्पूर्ण जिम्मेवार तथा अधिकार स्थानीय सरकारलाई नै दिएको हुनाले पनि स्थानीय तहले केही काम गर्न नसकेको अवस्थामा माथिल्लो निकायसँग सहकार्य गर्ने बताउनुभयो ।