गजेन्द्र गुरुङ
खजुरा, असोज ७ गते । मध्यपश्चिम स्रष्टा समाजले ‘सनत रचना कथा सम्मान २०८१’ ‘बहुरुपी’ कथासङ्ग्रहका लेखक कथाकार श्रेयज सुवेदीलाई प्रदान गरेको छ । नेपालगन्जमा एक कार्यक्रमबिच स्रष्टा समाजले कथाकार सुवेदीलाई सम्मान गरेको हो ।
प्राडा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष वीरेन्द्र जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुवेदीलाई नगद ११ हजार एक सय ११, सम्मानपत्र हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कथासङ्ग्रह र कथाकारहरूलाई मात्रै प्रदान गरिने उक्त सम्मानमा २०७१ सालमा प्रकाशित कथासङ्ग्रहमध्ये छनाेट समितिले उत्कृष्ट ठहर्याएको कथासङ्ग्रह ‘बहुरुपी’लाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कारका संस्थापक एवं वरिष्ठ कथाकार सनत रेग्मीले जानकारी दिनुभयो । रेग्मीले आफू र आफ्नी धर्मपत्नीको नाममा उक्त सम्मान स्थापना गर्नुभएको हो ।
कार्यक्रममा सम्मानित कथासङ्ग्रहमाथि आफ्ना पाठकीय धारणा राख्दै डम्मर बिसीले लेखको पहिलो कथासङ्ग्रहमै प्रभावशाली भाषाशैली र विषयवस्तुको बलियो पकड रहेको भन्दै कथाकार सुवेदीमा राम्रा कथा लेख्नसक्ने क्षमता देखिएको बताउनुभयो । साथै उहाँले कथाहरूमा देखिएको फिल्मी शैली र छायाँलाई कम गर्दै लैजान सुझाव पनि दिनुभयो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक सुवेदीले आफ्नो जीवनको पहिलो सम्मान र पुरस्कार प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले सम्मानपछि थप उत्कृष्ट रचनाहरूका लागि प्रेरणा लिन लेखकलाई सुझाव दिनुभयो । स्रष्टा समाजका अध्यक्ष जैसीले आगामी दिनमा सम्मान प्रदान गर्दा थप गुणस्तरीय पुस्तक वा लेखकलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, प्रगतिशील लेखक सङ्घका सचिव हरि तिमिल्सेना र साहित्यकार कल्पना पौडेल ‘जिज्ञाशु’ले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बहुरुपी कथासङ्ग्रहमा सामाजिक भेदभाव, आर्थिक असमानता, सांस्कृतिक सङ्घर्ष र मानवीय संवेदनाहरूमा आधारित १५ वटा कथाहरू रहेका छन् । २०८१ सालमा प्रकाशित कथा सङ्ग्रहहरुमध्ये सर्वाधिक चर्चामा रहेको उक्त कथासङ्ग्रह मदन पुरस्कारका लागि संक्षिप्त सुचीको उत्कृष्ट ७ भित्र र पद्मश्री साहित्य पुरस्कारको छनाेटका लागि उत्कृष्ट १५ वटा पुस्तकहरूको सुचीभित्र पनि अटाएको थियो ।