• ७ असोज २०८२, मङ्गलबार

संयुक्त राष्ट्र शिखर सम्मेलनमा ट्रम्प–जेलेन्स्की भेट, रूसविरुद्ध पश्चिमी धैर्यको परीक्षा

blog

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्बिर

संयुक्त राष्ट्रसङ्घ, असोज ७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्नुहुनेछ । रुसविरुद्ध पश्चिमी धैर्य घट्दै गएको बेला हुने यो भेटलाई संयुक्त राष्ट्र शिखर सम्मेलनकै एउटा प्रमुख क्षण मानिएको छ ।

ट्रम्पले पदभार ग्रहण गरेपछि पहिलोपटक संयुक्त राष्ट्रसङ्घलाई सम्बोधन गर्ने तयारी गर्नुभएको छ । सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय संस्थाहरूमा अमेरिकी भूमिकालाई कटौती गर्ने अन्धकार दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले अगस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अलास्का आमन्त्रित गरेपछि जेलेन्स्कीसँग यो दोस्रो भेट हुनेछ । पुटिनसँगको उक्त कदमले पश्चिमी अलगाव तोडे पनि युक्रेन युद्धमा कुनै प्रगति भएको थिएन ।

रुसले युक्रेनमाथि आक्रमण जारी राख्नुका साथै पोल्यान्ड, इस्टोनिया र रोमानियामा ड्रोन तथा हवाई आक्रमण बढाउँदा नाटो सदस्यहरूमा चिन्ता बढेको छ । अमेरिकी राजदूत माइक वाल्ट्जले नाटोको ‘हरेक इन्चको रक्षा गर्ने’ वाचा गर्नुभएको छ ।

ट्रम्पले युद्ध एक दिनमै अन्त्य गर्ने दाबी गर्दै पुटिनसँगको व्यक्तिगत सम्बन्धमा भरोसा राख्नुभएको थियो । तर हालै उहाँले ‘पुटिनले निराश पारेको’ स्वीकार गर्नुभयो । जेलेन्स्कीले भने ट्रम्पलाई रूसविरुद्ध कडा लाइन लिन दबाब दिने अपेक्षा गरिएको छ । तर विदेशमन्त्री मार्को रुबियोले ट्रम्प पुटिनमाथि दबाब दिन इच्छुक नभएको सङ्केत दिनुभएको छ ।

फेब्रुअरीमा ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहयोगबारे ‘कृतघ्न’ भनेपछि दुई नेताबीचको सम्बन्ध अझै संवेदनशील  छ ।

न्युयोर्कमा छोटो बसाइ रहने ट्रम्पले अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिले जस्ता सहयोगी नेतासँग पनि भेट गर्नुहुनेछ । ह्वाइट हाउसका अनुसार उहाँले ‘विश्वभर अमेरिकी शक्तिको नवीकरण’ र ‘विश्वव्यापी संस्थाहरूले बिगारेको विश्व व्यवस्थाबारे आफ्नो दृष्टिकोण’ प्रस्तुत गर्नुहुनेछ ।

ट्रम्पले दोस्रो कार्यकालमा ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र जलवायु निकायबाट अमेरिकालाई बाहिर निकाल्नुभएको छ, विकास सहयोगमा कटौती गर्नुभएको छ र विदेशी न्यायाधीशहरूलाई प्रतिबन्ध लगाउनुभएको छ ।

मानव अधिकार समूह अक्सफाम अमेरिकाले ट्रम्पलाई ‘सहयोगको सट्टा अराजकता बढाउने’ भन्दै आलोचना गरेको छ । 

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पश्चिमी सहयोगीहरूलाई लिएर प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियान चलाइरहेका बेला ट्रम्पको उपस्थितिले थप तरङ्ग ल्याएको छ ।

संयुक्त राज्य अमेरिका र इजरायल भने यस विषयमा भएको विशेष सत्रबाट टाढा बसेका छन् । रासस/एएफपी