अमरराज नहर्की
तनहुँ, असोज ७ गते । तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी ज्यान गुमाएका १६ बालबालिकाका परिवारले राहत पाएका छन् । डिभिजन वन कार्यालय तनहुँले मृतक बालबालिकाका परिवारलाई जनही रु १० लाखका दरले कुल रु एक करोड ६० लाख क्षतिपूर्ति स्वरूप हस्तान्तरण गरेको हो।
वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार, “वन्यजन्तुको आक्रमणबाट घाइते २१ जनालाई उपचार खर्च स्वरूप रु नौ लाख ४५ हजार ५२६ वितरण गरिएको छ ।” यस कार्यमार्फत पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै स्थानीय राहत व्यवस्थामा प्राथमिकता दिइएको छ ।
विसं २०७४ फागुन ९ देखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाभर ११ बालक र पाँच बालिकाले चितुवाको आक्रमणमा ज्यान गुमाएका छन् । पछिल्लो समय बन्दीपुर, भानु, आँबुखैरेनी र व्यास नगरपालिका बढी प्रभावित क्षेत्रका रूपमा चिनिएका छन् ।
वन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार मृत्यु हुने बालबालिकामा बन्दीपुर–५ की ८ वर्षीया सुप्रीति थापा, बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम थापा, बन्दीपुर–३ की ११ वर्षीया डिना चेपाङ, व्यास–१२ का ८ वर्षीय अभिनव कुँवर, भानु–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ की ४ वर्षीया रञ्जिता लम्साल, भानु–२ की ८ वर्षीया पुष्पा अधिकारी, सोही वडाका १० वर्षीय अमृत गुरुङ र ७ वर्षीय ऋतिक रोकासहित १६ बालबालिका छन् ।
वन अधिकृत काशीराज पण्डितका अनुसार अहिलेसम्म जिल्लाका २० स्थानमा पासो राखिएको छ । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले नियन्त्रणका लागि सोही क्षेत्रमा प्राथमिकता दिइएको उहाँले जानकारी दिनुभयो ।