इमान सिं राना
रामपुर (पाल्पा), असोज ७ गते । चाडपर्वलाई लक्षित गरी पाल्पाका तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । चाडपर्वको समयमा यात्रुहरूलाई हुनसक्ने समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
यस वर्ष तानसेनको बसपार्क, रामपुरको बेझाँड र सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रुहरूको चाप बढी हुने भएकाले यात्रुहरू भाडामा ठगिने, यात्रुको सामग्री हराउने, सवारीले गन्तव्यमा नपुग्दै ओराली दिने, गन्तव्यमा पुग्ने सवारीको बारेमा ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुलाई सहायता कक्षबाट सेवा दिइने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जिल्लाको मुख्य व्यापारिक केन्द्र र राजमार्गलाई लक्ष्यित गर्दै तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।
रामपुर नगरपालिका–५, बेझाँडमा मङ्गलबार भएको यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख उदयराज भट्टराई, रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, नेपाल मुस्लिम सङ्घका केन्द्रिय उपाध्यक्ष हजुल दिन मिया, नमस्ते रामपुर यातायात प्रा.लि.का अध्यक्ष राजन पोखरेल र रामसीता रामपुर यातायात प्रालिका सचिव प्रकाश ज्ञावलीले यात्रालाई सहज बनाउन यात्रु सहायकता कक्ष प्रभावकारी हुने बताउनुभयो ।
यातायात व्यवसायीहरूले यात्रुलाई सहज रूपमा सेवा दिनका लागि प्रतिबद्ध रहेको बताएका थिए । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले चाडपर्वको समयमा यात्रुको चाप बढी हुने भएकाले आइपर्नेे समस्या समाधानका लागि सहायता कक्षबाट सहजीकरण गरिने बताउनुभयो ।