काठमाडौँ, असोज ७ गते। काठमाडौँ महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले धारणा राख्नुभएको छ। महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न मङ्गलबार राष्ट्रिय सभा गृहमा आउनुभएका उहाँहरूले यस्तो प्रतिक्रिया दिनुभएको हो।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्नुहुन्छ, ‘हाम्रा लागि यो ठुलो सहयोग हो।’
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्नुहुन्छ, ‘यो जनता जनताबिचको सम्बन्ध विकासको नमूना हो।’ बैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी भन्नुहुन्छ, ‘एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ। कार्यविधिले सबैको पहुँचमा समान अवसर दिने छ।’
महानगरले देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको छ।
नगरसभाको निर्णयबाट ३५ थान ‘बी‘क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो। बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रालिसँग सम्झौता भएर आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरेर प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।
एम्बुलेन्स खरिदका लागि आठ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र यो वर्षको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको हो।
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।