• ७ असोज २०८२, मङ्गलबार

अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको शिष्टाचार भेट

blog

  • भारतले नेपालसँगको विशेष सम्बन्धलाई अझै मजबुत पार्दै सहयोग निरन्तर रहने प्रतिबद्धता जनायो।
  • भारतीय सहयोगमा सञ्चालित आयोजना र लगानीकर्ताको मनोबल उच्च बनाउन भारत सहकार्य गर्न तयार ।
  • चीनसँगको भेटमा बैँकिङ साझेदारी, निर्यात भुक्तानी सरलीकरण र लगानी प्रोत्साहनमा अर्थमन्त्रीको जोड ।
  • चीनले नेपालप्रति निरन्तर सहयोग रहने र चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तर्क्रिया गरिने ।    

काठमाडौँ, असोज ७ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि जनगणतन्त्र चीनका राजदुत चेङ्ग सोङ्गले मङ्गलबारका दिन छुट्टाछुटै शिष्टाचार भेट गर्नुभयो। 

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बिचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। 

साथै नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याउनु भयो । 

उक्त भेटको अवसरमा भारतीय राजदूतले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुकबिच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरू नेपालको साथमा रहेको उल्लेख गर्नुभयो । 

उक्त अवसरमा भारतीय राजदूतले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजना र कार्यक्रमहरूमा तीव्रता दिने तथा नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रसमेतको मनोबल उच्च बनाउनका लागि आवश्यक सहयोग र सहकार्य गर्न भारत तयार रहेको विचार व्यक्त गर्नु भयो । 

उक्त अवसरमा नेपाल भारतबिचको व्यापार सहजीकरणका लागि दुबै पक्षबिच समन्वय सुदृढ बनाउने विषयमा समेत छलफल भयो । 


त्यसैगरी, चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले चीन नेपालको असल छिमेकी रहेको उल्लेख गर्दै चीनले नेपालमा गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। 

भेटका अवसरमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गर्नुहुँदै सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउनुभयो। 

साथै उक्त अवसरमा मन्त्री खनालले नेपाल र चीन बैँकिङ क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैँकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न समेत चिनियाँ राजदुत सोङ्गलाई अनुरोध गर्नुभयो। 

अर्थ मन्त्रालयका सह–सचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, उक्त भेटमा राजदुतले चीनले नेपाली जनताको छनाेटलाई सधैँ सम्मान गर्दै आएको उल्लेख गर्नुहुँदै चीनले नेपाललाई गर्दै आएको सहयोग निरन्तर रहने बताउनुभयो।

साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपले अगाडि बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकुल भएपछि चिनियाँ लगानीकर्तासँगको छुट्टै अन्तर्क्रिया गरिने कुरासमेत जानकारी दिनुभयो ।