काठमाडौँ, असोज ७ गते । अढाई वर्षदेखि सहित स्मारक ‘ए’ डिभिजन लिग सञ्चालन गर्न नसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगसहित अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्नेगरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
एन्फाले मङ्गलबार पुस ९ देखि असार २६ सम्म ‘ए’ डिभिजन लिग गर्ने गरी क्यालेन्डर सार्वजनिक गरेको हो । एन्फाले लिग होम एन्ड अवेका आधारमा विभिन्न १४ जिल्लामा सञ्चालन गरिने यसअघि जनाएको थियो ।
यस्तै यु–१६ युथ लिग कार्तिक १७ देखि पुन: सुचारु गरिने, महिला फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने, महिला लिग र सुपर लिग गर्ने लगायत गतिविधि उल्लेख छ । एन्फाले यसअघि सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) भने समावेश गरेको छैन ।