• ७ असोज २०८२, मङ्गलबार

डेम्बेलेलाई बालोन डी’ओर अवार्ड, बोनमतीको ह्याट्रिक

blog

बालोन डी’ओर अवार्ड विजेता औसमाने डेम्बेले र आइटाना बोनमती ।

काठमाडौँ, असोज ७ गते । बालोन डी’ओर अवार्ड फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर औसमाने डेम्बेलेले जित्नुभएको छ ।

डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

२८ वर्षीय डेम्बेले डी’ओर अवार्ड जित्ने फ्रान्सका छैटौँ खेलाडी बन्नुभएको छ । यसअघि  रेमन्ड कोपा, मिचेल प्लाटिनी, जियान पियरी पपिन, जिनेदिन जिदान र करिम बेन्जेमाले अवार्ड जित्नुभएको थियो । 

यस्तै महिलातर्फको अवार्ड स्पेन तथा बार्सिलोनाकी स्ट्राइकर आइटाना बोनमती जित्नुभएको छ । उहाँले लगातार तेस्रो पटक अवार्ड जित्दै ह्याट्रिक गर्नुभयो । 

उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेन तथा बार्सिलोनाका युवा स्ट्राइकर लामिन यमालले हात पार्नुभयो । महिलातर्फ स्पेनकै भिकी लोपेजलाई प्रदान गरियो । 

पिएसजीका लुइस एनरिके उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । पिएसजीकै जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक बन्नुभयो । जियानलुजी हाल इङ्लिस क्लब म्यानचेस्टर सिटी पुग्नुभएको छ । 

उत्कृष्ट स्ट्राइकरमा पुरुषतर्फ स्विडेनका भिक्टोर ग्योकेरेस र महिलातर्फ पोल्यान्डकी इवा पाजोर चुनिनुभयो । महिलातर्फ उत्कृष्ट टोलीको अवार्ड आर्सनल र प्रशिक्षकमा इङ्ल्यान्ड महिला राष्ट्रिय टोलीकी सरिना विग्म्यानलाई प्रदान गरियो । एजेन्सी