• ७ असोज २०८२, मङ्गलबार

यात्रा सहजका लागि एक्लेसालको पहिरो हटाइँदै

blog

मालढुङ्गा–कुश्मीसेरा सडकअन्तर्गत एक्लेसालको पहिरो पन्छाइँदै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज ७ गते । महान् पर्व बडादसैँलाई लक्षित गरी बागलुङ नगरपालिकाले पहिरोले झण्डै तीन महिना ठप्प रहेको मालढुङ्गा–कुश्मीसेरा सडकअन्तर्गत एक्लेसालको पहिरो पन्छाएर सवारी साधन चलाउने तयारी थालेको छ । 

एक्लेसालमा खसेको पहिरोले पछिल्लो पाँच वर्षदेखि दक्षिण बागलुङवासीलाई सास्ती दिँदैआएको छ । यो वर्ष पनि गत असारदेखि निरन्तरको पहिरोले सडक ठप्प थियो । पानी रोकिन लागेकाले सडक सञ्चालनमा ल्याउन नगरपालिकाले काम थालेको हो । 

नगरपालिकाले आफ्नै खर्चमा सडक खुलाउन लागेको हो । पाँच वर्ष अघिदेखि निरन्तर खसेको पहिरो अघिल्लो वर्षको वर्षात्मा पनि पटक पटक खोलेर सञ्चालन गरिएको थियो । जति बजेट खर्चिए पनि पहिरोले सडक बगिरहेपछि खर्च धान्न नसकेर यो वर्ष काम भएको थिएन । 

मालढुङ्गा–कुश्मीसेरा सडक अवरुद्व भएपछि बागलुङ नगरपालिका–१२, १३ र १४ सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने यात्रीले सास्ती खेप्दैआएका थिए । कतिपय यात्री पर्वतको कुश्मा बजार पुगेर झोलुङ्गे पुल तरेपछि मात्र यात्रा गर्नुपर्ने बाध्यता थियो । 

वैकल्पिक सडकको रूपमा कालीगण्डकी काेरिडोर भए पनि गत साउन २४ गते खसेको ‘कालाखोलाको पहिरो’ ले जोखिम हटेको छैन । उक्त सडक खण्डमा पिकअप र जिप मात्र चल्ने गरेका छन् । दक्षिण बागलुङवासीले बस चढेर यात्रा गर्न नपाएपछि भाडा महँगो भइरहेको यात्रुहरूको गुनासो छ । 

यात्रीको हित र दसैँमा आउने पाहुना समेतले सहज यात्रा गर्न सकुन् भनेर सडक खुलाउने प्रयास भएको खड्काले जानकारी दिनुभयो । मालढुङ्गा–कुश्मीसेरा सडकको दिगो व्यवस्थापन नभएपछि चालु आर्थिक वर्ष गण्डकी प्रदेश सरकारबाट ३ करोड रुपियाँ विनियोजन गरी पहिरो नियन्त्रण तथा सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । 

सोमबारदेखि पहिरो पन्छाउने काम सुरु भएकाले बुधबारसम्ममा सकेर सडक सञ्चालनमा ल्याउने नगर उपप्रमुख खड्काले बताउनुभयो ।