• ७ असोज २०८२, मङ्गलबार

बेलबारी गोल्डकपको आठौं संस्करण असोज २६ गतेबाट

blog

हरि कोइराला

उर्लाबारी, असोज ७ गते । मोरङको बेलबारीस्थित एलएक्स सिटी फुटबल क्लब असोज २६ गतेदेखि कात्तिक १ गतेसम्म बेलबारी गोल्डकपको आठौं संस्करण आयोजना गर्ने भएको छ । आयोजक क्लबले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो । 

बेलबारी ११ को लक्ष्मी खेलमैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टोलीको सहभागिता रहनेछ । नेपालका आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।

बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राइस मिल मुख्य प्रायोजक र गोर्खा ब्रुअरी प्रायोजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रुपियाँसहित गोल्ड कप र ट्रफी प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोल रक्षक,उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीले जनही ११ हजार रुपियाँ प्राप्त गर्नेछन् । हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई सात हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

खेल सम्पन्न गर्न ६३ लाख ७८ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट ७२ लाख १ हजार रुपियाँ आम्दानी हुने लक्ष्य राखिएको छ।