• ७ असोज २०८२, मङ्गलबार

सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरी परिचालन

blog

सुदूरपश्चिम प्रदेशका प्रहरी अधिकारी । तस्बिरः प्रदेश प्रहरी कार्यालय

अविनाश चौधरी

धनगढी, असोज ७ गते । सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति, सुरक्षा कायमका लागि पाँच हजार ७७ प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो ।

जेनजी प्रदर्शनको क्रममा कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिर निस्केकाले सुरक्षा चुनौती थपिएको निष्कर्षसहित फरक रणनीतिका साथ प्रहरी परिचालन गरेको जनाइएको छ । 

प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा प्रहरी खट्ने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, प्रत्येक जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षाका लागि प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । 

उहाँका अनुसार चाडपर्वमा सुरक्षा चेकजाँचमा कडाइका साथै मापसे चेकजाँच गरिने छ । चाडपर्वको बेला दुर्घटना न्यूनीकरणमा पनि प्रहरीको विशेष ध्यान रहने जनाइएको छ । कारागारबाट कैदी फरार हुँदा सुरक्षा चुनौती थपिएकाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा विशेष निगरानी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले बताउनुभयो । 

उहाँले फरार कैदी पक्राउका लागि प्रत्येक जिल्लाका प्रहरीलाई सर्कुलर गरेको जानकारी दिनुभयो । चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहयोगका लागि प्रदेशभर ६५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जसमा २०९ प्रहरी खटेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।