सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा), असोज ७ गते । धनकुटाको सहिदभूमि गाउँपालिका –६ चाम्चास्थित टप्पुदेवि माविमा पानीपुरी र चटपटे खाँदा १५ जना विद्यार्थी बिरामी परेका छन् । मंगलबार विद्यार्थीहरुले खाजा खाने बेलामा खाएको पानीपुरी र चट्पटे खाँदा बिरामी परेको बताएका छन् ।
बिरामी हुनेहरुमा १० बर्षिया सलिना राई, रस्मिका राई, १२ बर्षिय मिलन राई, ९ बर्षिय मिलन राई, ७ बर्षिय एमन राई, ९ बर्षिय मानवी राई, १० बर्षिया समृद्धि बिस्ट, ११ बर्षिय दिपसन राई, १० बर्षिय मैना राई, १० बर्षिय इनोसेन राई, ९ बर्षिय रीतिका राई, स्रेङ्मा राई, ८ बर्षिय गोमा थापा, ९ बर्षिय योजना राई, ९ बर्षिय मिङ्सा राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो।
बिरामी भएका विद्यार्थी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ । उनीहरुले खाजा खाने बेलामा स्थानीय पसलमा पानीपुरी र चट्पटे खाएका थिए । पानीपुरी र चट्पटे खाएपश्चात विद्यार्थीहरु बमिट गर्ने, पेट दुख्ने समस्या देखा परेको प्रधानाध्यापक रमेश पौडेलले बताउनुभयो । विद्यार्थीहरुको अवस्था अहिले सामान्य रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।