ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ७ गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएलगत्तै आधार शिविर जाने पदयात्रीको संख्यामा वृद्धि भएको हो।
मौसम खुल्न थालेसँगै आरोहण मार्गका रुपमा समेत परिचित रहेको मौरिस हर्जोग पदमार्ग हुँदै स्वदेशी तथा विदेशी पर्यटकहरु आधार शिविर पुग्न थालेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो।
नारच्याङको बेंसी गाउँदेखि पदमार्ग हुँदै पर्यटक चारहजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविर पुग्न थालेका छन्। शरदयामको सुरुवातसँगै दैनिक रुपमा पर्यटक आधार शिविर पुगेको पर्यटन व्यवसायी गुरुङले बताउनुभयो।
उहाँका अनुसार अहिले दैनिक ३० देखि ५० जनासम्म पदयात्रीरु आधार शिविरको पदयात्रामा गइरहेका छन्। पर्यटकको सुविधाका लागि हुमखोलादेखि आधार शिविरसम्मका विभिन्न स्थानमा स्थानीय युवाले होटल तथा रेष्टुरेन्ट संचालन गरेका छन्।
दसैँ तिहारको बिदा सुरु भएसँगै पर्यटकको संख्यामा अझै बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो। नारच्याङको बेंसी गाउँदेखि दुईघण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ। हुमखोलाबाट दुई दिनमा सहजै आधार शिविर पुग्न सकिन्छ।
मिस्त्रीखोलाको किनारै किनार निर्माण गरिएको पदमार्गको यात्रा गर्दा झरना, मनमोहक हिमश्रृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ।
आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ।
पदमार्गमा गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाले फुतफुते झरनामा चिया पसल, सांधीखर्क, गुफाफाँट, भुसकेटमेला र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन्। पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको पर्यटन व्यवसायी गुरुङले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुगिन्छ। पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।