• ७ असोज २०८२, मङ्गलबार

चोरीसिकारीका घटनामा कमी

blog

होमराज रानाभाट 

कावासोती, असोज ७ गते  । पछिल्ला दिनमा चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकारीका घटनामा कमी आउन थालेको छ । लामो समयदेखि गैँडाको चोरीसिकारीका घटना भएका छैनन् । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार अन्तिम पटक २०८० कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्तर्गतको चपरचुली क्षेत्रमा नेपाली सेनाको सुरक्षा पोस्टबाट तीन किलोमिटर पर जङ्गलमा खाडलमा पारेर तस्करले दुई वटा गैँडाको ज्यान लिएका थिए । त्यसयता प्राकृतिक कारणले गैँडाको मृत्यु भएको भए पनि तस्करको निसानाबाट गैँडा जोगिँदै आएका निकुञ्जका सूचना अधिकृत अविनाश थापामगरले बताउनुभयो ।

चितवनको चपरचुली क्षेत्रमा दुई वटा गैँडा तस्करले पासोका रूपमा जङ्गलमा खनेको खाडलमा परेर मरेपछि सरकारले मङ्सिर १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो ।

 छानबिन समितिले काम गरिरहेकै बेला नेपाली सेना र निकुञ्ज प्रशासनको संयुक्त प्रयासमा उक्त घटनामा संलग्न आठ जना तस्करलाई पक्राउ गरिएको थियो । छानबिन समितिको प्रतिवेदनले दिएको सुझाव अनुसार निकुञ्ज प्रशासन, निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा रणनीति फेरेपछि शून्य चोरीसिकारीको सोमबार छ सय ७५ दिन पुगेको सूचना अधिकारी थापामगरले बताउनुभयो । 

उहाँका अनुसार नेपाली सेनाको नयाँ गोरख गणले निकुञ्जको सुरक्षाव्यवस्थाको जिम्मेवारी लिएको छ । राष्ट्रिय निकुञ्ज प्रशासनसहित नेपाली सेना खटिएका निकुञ्ज र आरक्षमा आवश्यकता अनुसार अपरेसन संरक्षण चलाएको छ । निकुञ्जको सुरक्षाका लागि निकुञ्ज प्रशासन र नेपाली सेनाले संयुक्त गस्ती गर्ने गरेको छ । निकुञ्जको सुरक्षाका लागि नेपाली सेना संलग्न ५३ वटा पोस्ट रहेका र एउटा पोस्टमा १२ सैनिकले सुरक्षा दिइरहेका छन् ।

विगत २२ महिनादेखि चोरीसिकारीका कारण गैँडा मर्न रोकिए पनि एक वर्षमा प्राकृतिक कारणले २८ वटा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । त्यसै गरी आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा दुई वटा प्राकृतिक कारण र एउटा गैँडा किसानले बाली जोगाउन खेतमा लगाएको करेन्ट लागेर मरेको निकुञ्जले जनाएको छ । 

निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा गैँडा बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर पनि मरेको निकुञ्जले जनाएको छ । 

त्यसै गरी वासस्थानको समस्या, जलवायु परिवर्तन, मानवीय गतिविधिका कारण नदी साँघुरिनु, वनभित्रका पोखरी सुक्दै गएर दलदल बन्नु जस्ता कारणले गैँडाको प्राकृतिक मृत्यु भएको निकुञ्जले दाबी गरेको छ । नारायणी, राप्ती जस्ता ठुला नदी रहेको चितवन राष्ट्रिय निकुञ्ज हरेक वर्ष जसो बाढीले प्रभावित हुने गरेको छ । बाढीले कति गैँडा बगाएको छ भन्ने यकिन तथ्याङ्क निकुञ्जसँग पनि नरहेको  सूचना अधिकारी थापामगरले बताउनुभयो ।

निकुञ्जले गैँडा घनत्व बढ्दै गएपछि वासस्थान व्यवस्थापन, आनुवंशिक विविधता मिलाउन भन्दै २०८१ मा निकुञ्जको पश्चिम क्षेत्र पूर्वी नवलपरासीबाट पूर्वी  क्षेत्रमा १० वटा गैँडा स्थानान्तरण गरेको थियो । पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रेकर्ड गरिएका छन् । चितवनबाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा छन् ।

यसैबिच आज विश्व गैँडा दिवस संरक्षणको क्षेत्रमा काम गर्नेले विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । गैँडा संरक्षणका लागि भन्दै प्रकृतिका लागि विश्वव्यापी कोष डब्लुडब्लुएफले सन् २०१० देखि यो दिवस मनाउने निर्णय गरेको हो ।