• ७ असोज २०८२, मङ्गलबार

भूमिहीन समस्या समाधान

आवेदन जले रोकियो पुर्जा वितरण

blog

घोराही समाचारदाता

घोराही, असोज ७ गते । भूमि आयोग दाङले असोज ५ गतेभित्र जिल्लाका चार स्थानीय तहका ६३ जना भूमिहीन दलित र सुकुमवासीलाई जग्गाको पुर्जा वितरण गर्ने तयारी गरेको थियो । त्यही अनुसार जग्गाको नापजाँच, नक्साङ्कन गर्नेदेखि पुर्जा बनाउने काम भइरहेको थियो । 

यही बेला जेनजी आन्दोलनका क्रममा जिल्ला भूमि आयोगसँगै नापी कार्यालय, मालपोत कार्यालयसँगै कतिपय स्थानीय तहमा रहेका भूमि शाखासमेत जलेपछि जग्गाको पुर्जा वितरणको काम रोकिएको छ । भूमि आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतका अनुसार बबई गाउँपालिकामा २२, लमही नगरपालिकामा २३, गढवा गाउँपालिकामा १५ र राप्ती गाउँपालिकामा तीन जना भूमिहीन दलित र सुकुमवासीलाई पुर्जा वितरणको तयारी थियो । अध्यक्ष बस्नेतले जेनजी आन्दोलनका क्रममा आयोगसँगै नापी कार्यालय घोराहीमा आगजनी र कम्प्युटर चोरी भएपछि रोकिएको बताउनुभयो । 

अध्यक्ष बस्नेतका अनुसार ६० जना भूमिहीन सुकुमवासी र दलितसँगै गढवाको डाँडाटोलमा पाँच सय अव्यवस्थित घरपरिवार र लमहीको कान्छी टोलमा २५० जनालाई जग्गाको पुर्जा दिने तयारी भए पनि रोकिएको बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “कार्यालयमा भएका तीन वटा काम गर्ने कम्प्युटर, प्रिन्टर चोरीसँगै कार्यालयमा आगजनी हुँदा २०२८ सालदेखि २०७० सम्म सङ्कलन गरिएका निवेदन जलेका छन् ।” अध्यक्ष बस्नेतका अनुसार आगजनीबाट तिस हजार निवेदन जलेको अनुमान छ । 

उहाँका अनुसार आगजनीको घटनाले अन्तिम तयारीमा रहेका पुर्जा वितरणको काम अनिश्चित भएको भन्दै अध्यक्ष बस्नेतले यो घटनाले जिल्लाका ६९ हजारभन्दा बढी भूमिहीन सुकुमवासी र दलितसँगै अव्यवस्थित बसोबासीलाई निराश बनाउने काम गरेको छ ।  

जेनजी प्रदर्शनका क्रममा भूमि आयोगको कार्यालय, मालपोत र नापी कार्यालयसँगै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा रहेका भूमि शाखामा आगजनी भई सम्पूर्ण कागजात जलेर नष्ट भएपछि लालपुर्जा वितरणको काम ठप्प भएको छ । जिल्लामा छ हजार पाँच सय तीन घरपरिवार भूमिहीन दलित, १० हजार ९१२ परिवार भूमिहीन सुकुमवासी र ५२ हजार ३४ अव्यवस्थित परिवार गरेर ६९ हजार ५३२ परिवारले जग्गाको पुर्जाका लागि निवेदन दिएका छन् । जस अन्तर्गत हालसम्म ३४ हजार ३३३ हेक्टर जमिन नापजाँच भएको छ ।