राजन रावत
हुम्ला, असोज ७ गते । सिमकोट गाउँपालिका– ८ को वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । दुई वर्षमा निर्माण गरिएको नयाँ सुविधासम्पन्न भवनबाट वडा कार्यालयले सेवा प्रदान गर्न सुरु गरेको हो । दुई तलाको नयाँ वडा कार्यालयमा आठ वटा कोठा रहेको वडा अध्यक्ष कमल बुढाले जानकारी दिनुभयो ।
दुई वर्ष अगाडि भवन निर्माणका लागि टेण्डर भए अनुसार भवन निर्माण गरिएको र अघिल्लो आर्थिक वर्ष ०८१–०८२ मा भवनको फिजिसिङ, रङरोगन तथा कम्पाउण्ड निर्माण कार्य पूरा भएपछि कार्यालय सारिएको उहाँले बताउनुभयो ।
यसअघि सीमित कोठा भाडामा लिएर वडा आफ्नो कार्य सम्पादन गर्दा निक्कै असजिलो महसुस गरी रहेको बेल नयाँ र सुविधासम्म भवन निर्माण पछि काम गर्न पनि सहज भएको उहाँले बताउनुभयो । भवनमा अध्यक्षको कार्य कक्ष, बैठक कोठा र अन्य कर्मचारीको कोठा बनाइएको छ । निर्वाचित भएदेखि नै आफ्नो भवन निर्माण गरेर त्यहीँबाट सेवा प्रदान गर्ने उद्देश्य अहिले आएर पूरा भएको बताउँदै उहाँले भवनमा तीन वटा शौचालय पनि निर्माण गरिएको छ ।
यसैगरी छिमेकी नाम्खा गाउँपालिकाले सहयेग गरेको सोलारले काम गर्न झन सहज बनाएको उहाँले बताउनुभयो । विद्युतको व्यवस्था भएपछि केही दिन अगाडिबाट इन्टरनेट सेवा पनि जडान गरिएको छ । हाल वडा कार्यालयमा एक जना वडा सचिव र दुई जना कार्यालय सहयोग कार्यरत रहँदै आउनुभएको छ । उक्त वडाका सेवाग्राही जैमल बुढाले नयाँ भवनबाट सेवा पाउन थालेपछि सेवाग्राही पनि सन्तुष्ट रहेको बताउनुभयो । सिमकोट गाउँपालिकामा आफ्नै सुविधासम्पन्न उक्त वडा पर्छ । यो भवन निर्माणका लागि ७४ लाख बजेट खर्च भएको छ ।