नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असोज ७ गते । हिन्दुको महान् पर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् । नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले रोजगारीका लागि भारतका विभिन्न सहरमा गएकाहरू अहिले स्वदेश फर्किरहेको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट नेपाली स्वदेश फर्किने क्रम ह्वात्तै बढेको बताउनुभयो ।
उहाँका अनुसार गत एक सातामा मात्रै करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । प्रहरी निरीक्षक बुढाथोकीले यो नाकाबाट हाल दैनिक करिब दुई हजारको हाराहारीमा नेपाली चाडपर्व मनाउन स्वदेश फर्किरहेको बताउनुभयो । केही दिनअघि भएको जेनजी आन्दोलनका क्रममा सीमानाका बन्द रहेको थियो । इलाका प्रहरी कार्यालय जमुनाहले नाका पुनः सञ्चालन हुनासाथ भारतबाट आउने नेपालीको सङ्ख्या बढेको जनाएको छ ।
दसैँतिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुनाह नाकामा सहज बनाएको छ । रिक्सा, ई–रिक्सा, बस, होटेल व्यवसायीबाट स्वदेश फर्किने क्रममा नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा सो सम्भावनालाई हेरेर नेपाल प्रहरीले कडा निगरानी गरिरहेको छ । कालीकोटका रमेश विकले यस पटक फर्किने योजना नरहे पनि देशको अवस्थाले गर्दा आउनु परेको बताउनुभयो । इलाका प्रहरी कार्यालय जमुनाहले अहिले चाडपर्वका लागि स्वदेश फर्किन थालेका नेपालीको क्रम दसैँ र सोपछि पनि जारी रहने जनाएको छ । सो कार्यालयका अनुसार दसैँतिहार जति नजिक आउँछ त्यति नै भारतबाट फर्किनेको सङ्ख्या पनि बढ्दै जाने गरेको छ ।