• ७ असोज २०८२, मङ्गलबार

दुःखमा साथ दिने गाउँ

blog

हरिबाबु भण्डारीको खेतबारीमा मकै भाँच्दै छिमेकी ।

सलिम मियाँ

बिजुवार (प्युठान), असोज ७ गते । प्युठानको झिमरुक गाउँपालिका–८, टिमुरचौरमा महिला र पुरुष हातमा हँसिया र टाउकोमा डोको बोकेर बारीमा मकै काटिरहेका थिए । कसैले मकै बोक्ने काम गरिरहेका छन् भने कसैले काटेका मकै थुपार्ने काम गरिरहेका देखिन्छन् । यो केवल खेतबारीको दृश्य होइन, यो गाउँको सांस्कृतिक झलक पनि हो । यो गाउँमा दुःख पर्दा सबै मिलेर उठ्ने परम्परा अझै जीवित छ ।

यी मकै काट्ने हातको केन्द्रमा हरिबाबु भण्डारी हुनुहुन्छ । उहाँकी श्रीमती सीता भण्डारी अहिले काठमाडौँस्थित एभरेस्ट हस्पिटलमा पाठेघरको शल्यक्रियापछि उपचाररत हुनुहुन्छ । श्रीमतीको उपचारमा व्यस्त हुँदा बारीमा पाकेको मकै भित्र्याउनसमेत समय पाउनुभएन । 

परिवारमा एउटी छोरी जागिरे, बाँकी दुई साना नानी भएकाले खेतमा पाकेको मकै भित्र्याउन नसकिएको हो । त्यसैले गाउँले सबै मिलेर मकै भित्र्याउने काममा लागेका हुन् । 

टिमुरचौरवासीले उहाँलाई एक्लो हुन दिएनन् । छरछिमेकी, गाउँले जुटेर भण्डारी परिवारको मकै काटिदिए, घरमा भित्र्याइदिएका छन् । त्यति मात्र होइन, भण्डारी दम्पती एक सातासम्म अस्पतालमा बस्नु पर्दा घरको दैनिक व्यवहारसमेत गाउँलेले हेरिदिए ।

स्थानीय अमर घर्तीले भन्नुभयो, “हाम्रो गाउँमा कसैको दुःख देख्दा छिमेकका मान्छे सहयोग नगरी बस्नै सक्दैनन् । गाउँमा सहयोगको भावना अझै छ ।” अस्पतालमै रहेका हरिबाबु भण्डारीले दुःखका बेला सहयोग र माया देखाउने सबैलाई धन्यवाद दिनुभयो । भण्डारीले अहिले श्रीमतीको स्वास्थ्य सुधार भएको र अस्पतालबाट डिस्चार्ज भइसकेको बताउनुभयो ।