• ८ वैशाख २०८१, शनिबार

फोहोर बोक्ने गाडीको अभाव

blog

काठमाडौँ, असार २ गते । आवश्यक सवारीसाधनको अभावमा काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । सवारीसाधनकै अभावमा बन्चरेडाँडावासीसँग सहमति भएको एक हप्ता बित्न लाग्दा पनि उपत्यकाको फोहोर अझै उठ्न सकेको छैन । घरघरमा तीन हप्तादेखि कोचिएर राखिएको फोहोर अझै सबै उठ्न सकेको छैन ।

गत शुक्रबार सहरी विकास मन्त्रालयमा बन्चरेडाँडावासीसँग सहमति भएपछि दुई हप्तादेखि अवरोध भएको फोहोर सङ्कलन तथा व्यवस्थापन कार्य पुनः सुरु भएको थियो । काठमाडौँ महानगरको वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले फोहोर व्यवस्थापनका लागि अहिले महानगरसँग रहेका सवारीसाधन अपुग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “टेकुको फोहोर ट्रान्सफर स्टेसनदेखि सिसडोल÷बन्चरेडाँडासम्म फोहोर ढुवानी गर्न महानगरसँग जम्मा १९ वटा ठूला टिप्पर गाडी छन् जसमध्ये अहिले १४ वटा मात्रै सञ्चालनमा छन्  ।” आन्तरिक रूपमा सङ्कलन भएका फोहोर टेकुमा जम्मा गरिन्छ र त्यहाँबाट सिसडोल/बन्चरेडाँडा ढुवानी गर्ने गरिन्छ ।

उहाँका अनुसार पाँचवटा गाडी बिग्रेका छन् । तिनको मर्मत भइरहेको छ । टेकु ट्रान्सफर स्टेसनमा थुप्रिएको फोहोरको ढुवानी महानगरसँग रहेका मौजुदा गाडीले नभ्याउने उहाँले स्पष्ट पार्नुभयो । गाडीको अभावमा टेकुबाट बन्चरेडाँडासम्म दिनको एक ट्रिपभन्दा बढी ढुवानी हुन नसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार टोलटोलमा गएर फोहोर सङ्कलनका लागि महानगरसँग ३८ वटा साना गाडी छन् तीमध्ये पनि कतिपय मर्मतमा हुन्छन् ।

निजी गाडीमा भाडा समस्या

विभागका प्रमुख राईले समयमा फोहोर व्यवस्थापनका लागि निजी गाडी भाडामा लिन खोजिए पनि भाडा दरका कारण अहिलेसम्म सम्भव हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी गाडी भाडामा लिँदा हामीले नियमको पालना गर्नुपर्छ । नियमानुसार महानगरले प्रतिट्रिप आठ हजार रुपियाँभन्दा बढी भाडा तिर्न सक्दैन तर निजी सवारीसाधन धनीको माग प्रतिट्रिप २२ हजार रुपियाँ रहेको छ ।”

फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरलाई चीन सरकारले दिएका गाडी अहिले कुन अवस्थामा कहाँ छन् भने तथ्याङ्क महानगरसँग छैन । महानगरलाई चीन सरकारले २०६६ सालमा अनुदानस्वरूप १०८ वटा साना बन्द कन्टेनर दिएको थियो । महानगरको वातावरण तथा कृषि विभाग प्रमुख राईले त्यसमध्ये ३८ वटाले अहिले टोलटोलमा गएर फोहोर सङ्कलन गरिरहेका छन् ।

उहाँले भन्नुभयो, “चीन सरकारले दिएका गाडीमध्ये अहिले कतिलाई एम्बुलेन्स बनाइएको छ, कतिपयलाई पीसीआर टेस्ट भ्यान बनाइएको छ भने कतिलाई बिरामी कुकुर बोक्ने गाडीका रूपमा प्रयोग गरिएको छ ।”