• २३ कात्तिक २०८२, आइतबार

अध्यागमन खुलेसँगै उपल्लो मुस्ताङको अर्धनिषेधित हटाउन माग

blog

अर्धनिषेधित क्षेत्रमा पर्ने लोमान्थाङ गाउँपालिका–५ मा अवस्थित सात सय वर्ष पुरानो ऐतिहासिक लोमान्थाङ दरबारको अवलोकनका गर्दै पर्यटक । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक २३ गते ।
उपल्लो मुस्ताङका स्थानीय तहले कोरला नाका हुँदै हिन्दु, बौद्ध, जैनलगायत विभिन्न समुदायका धर्मालम्बीहरुको पवित्र तीर्थस्थल कौलाश मानसरोबार पुग्ने मार्ग खुलाउन पहल थालेसँगै मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ गाउँपालिकामा–१, छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन)कार्यालय स्थापना उद्घाटन भएको एक वर्षपछि चिनियाँ भिसामा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङको नेतृत्वमा लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका १३ सदस्यीय जनप्रतिनिधिको टोली कोरला हुँदै मानसरोबार जोड्ने धार्मिक पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर चिनको ढोङ्वासेन जिल्लामा पुगेका छन् ।

एक साता लामो भ्रमणमा निस्किएसँगै धार्मिक यात्राका अर्धनिषेधित क्षेत्र बाधक हुने भन्दै हटाउनुपर्ने अध्यक्ष गुरुङले बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘अर्धनिषेधित क्षेत्रका कारण उपल्लो मुस्ताङको पर्यटनलाई चिडियाखानमा राखेजस्तै भएको छ, अध्यागमन विभागले विदेशीबाट लिने शुल्क समायोजन गर्नुपर्छ ।’’

तीन दशकदेखि अर्धनिषेधित क्षेत्र कायम राख्दा पर्यटन व्यवसायी पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको भन्दै पर्यटक आगमनलाई सहज बनाउन यस अगाडि मुस्ताङबाट प्रतिनिधित्व गर्ने निर्वतमान सङ्घीय सांसद् योगेश गौचन थकाली, गण्डकी प्रदेशसभाका नुम्डु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट लगायतको प्रतिनिधिमण्डलले तत्कालिन प्रधानमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइए पनि सुनुवाइ हुन सकेको छैन ।

अब आर्थिक तथा धार्मिक गन्तव्यका लागि समेत अर्धनिषेधित क्षेत्र हटाएर विदेशी पर्यटकलाई समेत सहज आवत–जावत गर्न मिल्ने गरी शुल्क समायोजन वा सोही शुल्कमा लामो समयसम्म भ्रमण गर्न मिल्ने बनाउनुपर्ने उपल्लो मुस्ताङको प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य गुरुङले बताउनुभयो ।

प्रदेशसभा सदस्य गुरूङले भन्नुभयो, ‘‘अहिलेकै अवस्थामा भारतसहित तेस्रो मुलुकबाट आउने धार्मिक पर्यटकलाई आर्कषित गर्न गाह्रो छ, पर्यटन क्षेत्रलाई नै असर गर्ने सरकारी प्रावधान अब हटाउँनै पर्छ ।’’ उपल्लो मुस्ताङ भ्रमण गर्न नेपालीबाहेकले अध्यागमन विभागले लिने शुल्कको कारण विदेशी पर्यटक तल्लो क्षेत्रबाट भ्रमण छोटाएर फर्किने गरेको भन्दै विदेशी पर्यटकमा समेत यो नियमले गलत सन्देश गएको प्रदेशसभा सदस्य गुरूङको भनाइ छ ।

मुस्ताङमा वार्षिक एक लाखभन्दा बढि विदेशी पर्यटक प्रवेश गर्ने गरेकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङका अनुसार यसबर्षको वैशाखदेखि असोज महिनासम्म अर्धनिषेधित क्षेत्रको रुपमा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका विभिन्न पर्यटकीयस्थलमा मुस्किलले चार हजार पर्यटक माथिल्लो क्षेत्रमा जान्छन् ।

हिन्दु तथा बौद्ध धार्मालम्बीहरूको अति पवित्र तीर्थस्थल चीनको स्वशासित क्षेत्र तिब्बतको नगारी प्रान्तमा रहेको कैलाश मानसरोवरको दर्शनका लागि भारतीयसहित तेस्रो राष्ट्र«बाट समेत आउने तथा अन्य पर्यटक समेत तिब्बती क्षेत्रमा जाने क्रममा यो प्रावधान खुकुलो भएमा सहज हुने मुस्ताङका पर्यटन व्यवसायीको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा नं ५ को साङ्ता र चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकोउपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै वडालाई सुरक्षा संवेदनशीलताका कारण सरकारले निषेधित क्षेत्र तोकेर नेपालीबाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम लागू गरेको छ । सार्क र तेस्रो राष्ट्र«बाट माथिल्लो क्षेत्रमा जाने पर्यटकले १० दिनभन्दा बढि भ्रमण गर्न प्रतिदिन ५० डलर शुल्क तिर्नुपर्छ ।

उपल्लो मुस्ताङको भ्रमणमा जाने विदेशी पर्यटक कोरला नाका क्षेत्रमा भन्दा पनि प्राचिन मानवबस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, प्राचिन शैलीका माटोको बस्ती, मौलिक रहनसहन, संस्कृति, जीवनशैलीमा समय विताउने गरेका छन् । नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । मुस्ताङमा दुई मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद् ऋतुमा पदयात्रा र सडक सञ्जाल हुँदै विदेशी पर्यटक पुग्ने गरेका छन् ।