काठमाडौँ, कात्तिक ९ गते । आराध्यदेव सूर्य र ब्रह्माको मानसपुत्री छठी (षष्ठी) को उपासना तथा आराधना गरी मनाइने महापर्व छठ शनिबारदेखि सुरु भएको छ । मुख्य गरी चार दिन मनाइने यो पर्व शनिबार ‘नहा खा’ (नुहाएर खाने) विधि पूरा गरी सुरु भएको हो । शिवपुत्र कात्तिकको अर्धाङ्गिनीका रूपमा समेत छठीको पूजा गरिन्छ । यस वर्ष कात्तिक १० गते सोमबार (षष्ठी) का दिन साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार (सप्तमी) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सम्पन्न हुँदै छ । सरकारले यस पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिँदै हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।
केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र सीमित यो पर्व अहिले सङ्घीय राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा राष्ट्रिय पर्वका रूपमा धुमधामसाथ मनाउन थालिएको छ । यो पर्व मुलुकको पहाडी र हिमाली भेगमा समेत त्यति नै लोकप्रिय बन्दै गएको छ । यो पर्वले सामाजिक सद्भाव, एकता तथा धार्मिक सहिष्णुतालाई थप बलियो बनाउनमा मद्दत पु¥याएको वरिष्ठ संस्कृतिविद् डा. गोविन्द टन्डन बताउनुहुन्छ ।
छठपर्वलाई अहिले सबै नेपालीले राष्ट्रिय महत्व र गौरवको अनुभूति गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “यस पर्वले तराई र पहाडबिचको सम्बन्ध थप सुमधुर बन्दै गएको छ । यो तराईको मात्र पर्व हो भन्ने सोचमै परिवर्तन आएको छ । राष्ट्रिय पर्वका रूपमै विकसित हुँदै गएको छ । यसले राष्ट्रिय भावना प्रवर्धनका लागि ठुलो योगदान पु¥याइरहेको छ ।”
पहाडी–मधेशी, धनी–गरिब, महिला–पुरुष सबैले मनाउने यो पर्वले मुलुकको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप बलियो बनाएको उहाँको धारणा छ । चाडपर्वभित्रको विकृति हटाउँदै हरेक संस्कृतिलाई मौलाउन पाउने अवसर राज्यले प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तो छ छठको विधि
व्रतालु माधवी कायस्थका अनुसार यो पर्वको पहिलो दिनलाई ‘नहा खा’ (नुहाएर खाने) भनिन्छ । यो दिन व्रतालुले स्नान गरेर ध्यान गरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि नै विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छन् ।
उहाँका अनुसार दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडामा सखर, दुध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्छन् । छठी पूजा नहुने टोलछिमेकका घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ ।
पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायत परिकार तेल, घ्युमा पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरीका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुठनी, सुपारी, ल्वाङ, सुकुमेललगायत प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर शुद्ध जल र गाईको दुधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र अस्ताउँदो सूर्यलाई अर्घ दिई घर फर्कन्छन् । कतिपय व्रतालु घर नफर्किएर पूजास्थलै रातभरि जाग्राम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरे अनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गर्छन्, जसलाई ‘कोसिया’ भनिन्छ । भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा यही सम्पन्न हुन्छ ।
छठको पौराणिक कथा
यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती रहेको बताउनुहुन्छ संस्कृतिविद् डा. रामदयाल राकेश । सत्ययुगमा सरयाती नामका राजाकी सुपुत्री सुकन्याले पहिलो पटक छठीको पूजा गरेको उहाँ बताउनुहुन्छ ।
यसै गरी पाण्डवहरूको गुप्तवासको सफलताको कामना गरी द्रौपदीले छठीको पूजा गरेको पनि उहाँले बताउनुभयो । त्यसबेलादेखि नै छठपर्वको सुरुवात भएको धेरैको विश्वास रहेको उहाँको भनाइ छ । सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सती अनुसुयाले छठीको पूजा गरेकोे उल्लेख पाइन्छ ।
साम्बपुराणका अनुसार, पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यसबेलादेखि नै छठको प्रारम्भ भएको कतिपयको विश्वास छ । त्यस्तै कुष्ठरोगबाटै पीडित कवि मयुर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ शरीर प्राप्त गरेको कथासँग जोडिएर छठको सुरुवात भएको संस्कृतिविद् डा. राकेशको भनाइ छ ।