ठाकुरप्रसाद आचार्य
म्याग्दी,माघ ९ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उम्मेदवार कायम भएका छन्।
माघ ६ गते मनोनयन दर्ता गरेका एक जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२ जना उम्मेदवार कायम भएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार स्वतन्त्र उम्मेदवार नवीन जिसीले उम्मेदवारी फिर्ता लिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार युवराज रोका नाम फिर्ता लिन तोकिएको समय भन्दा ढिला पुगेपछि उहाँको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो।
मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो, ‘‘रास्वपाका उम्मेदवार नाम फिर्ताका निवेदन लिएर आएपनि तोकिएको समयअवधिमा आउनुभएन। एक बजे भित्रमा उम्मेदवारी फिर्ता लिन निवेदन दिइसक्नुपर्नेमा उहाँ आधा घण्टा नै ढिला आउनुभयो। त्यसैले उहाँको उम्मेदवारी कायम भयो।’’
रास्वपाका उम्मेदवार रोकाले बेनी देखि बाहिर भएकाले समयमा आउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हाम्रो समर्थन स्वतन्त्र उम्मेदवारी दिनुभएका निवर्तमान मन्त्री महावीर पुनलाई हो। पार्टी केन्द्रले यसबारेमा ढिला निर्णय गर्दा उम्मेदवारी फिर्ता लिने कार्यतालिका अनुसार समय भित्र आउन सकिन। कानून रुपमा उम्मेदवारी भएपनि व्यवहारिक रुपमा पार्टीले पुनलाई नै सहयोग गरेर जाने कुरा भएको छ।’’
यसैगरी स्वतन्त्र उम्मेदवार पुनलाई सहयोग गर्न बिहिबार सामाजि सञ्जाल मार्फत उम्मेदवारी फिर्ताको घोषणा गर्नुभएका नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजाले पनि शुक्रबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिनुभएको छैन।
एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरेको उम्मेदवारी कायम भएको छ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका पुन चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।
जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन्। ति मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्।
जिल्लामा ८२ वटा मतदानस्थल र १ सय १० वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदानस्थल लाई समान्य भनेर बर्गिकरण गरेको छ।