• ९ माघ २०८२, शुक्रबार

माघ १ गतेदेखि ९ गरेसम्म आयोगले गरेका प्रमुख काम

राष्ट्रिय सभाको निर्वाचन तयारी पूरा

blog

फाइल तस्बिर

काठमाडौँ, माघ ९ गते । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । आयोगले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । 

त्यसैगरी आयोगले फागुन २१ गते सम्पन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको कार्यतालिका अनुसार विभिन्न काम सम्पन्न गरेको छ । 

 मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन् । त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्य सञ्चालन भएका छन्। 

आयोगले गरेका प्रमुख काम बुँदामा : 

(क) राष्ट्रियसभा सदस्य निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत संवत् २०८२ साल माघ ११ गते हुने मतदान कार्यको लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको छ। उम्मेदवारको मनोनयपत्र दर्ता, दाबी-विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्य सम्पन्न भइसकेका छन्। निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ ११ गते बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुनेछ।

(ख) पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ संवत् २०८२ साल माघ ६ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्य सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन्। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारउपरको दाबी विरोधको उजुरी लिने कामसमेत सम्पन्न भई प्राप्त पाँच उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक निर्णयको कार्य सम्पन्न भइसकेको छ। प्राप्त उजुरीका आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ का एक जनाको उम्मेदवारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट खारेज भएको छभने आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन्। आजै अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेका छन्।

 (ग) समानुपातिक निर्वाचन प्रणालीतर्फका कार्यक्रमहरु

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलबाट गत पौष १३ र १४ गते पेस भएका उम्मेदवारको बन्दसूचीको नामावली प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम माघ ४ गते सार्वजनिक गरिएको छ। उक्त नामावलीमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको नाम समावेश छ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरुको योग्यता सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले माघ ५ देखि १० सम्म कार्यालय समयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा उजुरी पेश गर्न सकिने व्यवस्था अनुसार उक्त कार्यक्रम जारी रहेको छ।

(घ) मतपत्र र मतदाता नामावली छपाइ

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको कार्य माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएकोमा हालसम्म डेढ करोड मतपत्रको छपाइ सकिएको छ। अब ५० लाख मतपत्र छपाइ हुन बाँकी रहेको छ। सो मतपत्र छपाइ सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्रको छपाइ कार्य सुरु हुनेछ। त्यसैगरी मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुन्याई सकिएको छ भने अन्य ३ प्रति मतपत्र छपाइ गर्ने कार्य आयोग परिसरमा सुचारु रहेको छ।

(ङ) हानिकारक सूचना नियन्त्रण र सूचना सदाचार प्रवर्धन

हानिकारक सूचनाहरु (Toxic Information) अन्तर्गत पर्ने गलत सूचना (Mis-information), भ्रामक सूचना (Dis-information) र गाली गलौजयुक्त अभिव्यक्ति (Hate Speech) हरुले निर्वाचनको स्वच्छता र निष्पक्षतामा नकारात्मक असर पार्ने भएकोले त्यस्ता सूचनाहरुलाई नियन्त्रण तथा नियमनका लागि नियामक निकायहरुसँग समन्वय र सहजीकरण गर्न आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्धन एकाइ (Information Integrity Promotion Unit, IIPU) पूर्ण रुपमा क्रियाशील रहेको छ। सूचना सदाचार प्रवर्धन एकाइ (IIPU) को कार्यदक्षता बढाउनका लागि यसै हप्तादेखि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को सहयोगमा e-Monitor Plus प्रणाली प्रयोगमा ल्याइएको छ भने सो प्रणाली प्रयोगका लागि कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। विद्युतीय संचार माध्यम तथा सामाजिक संजालमा यो हप्ता फेला परेका ६ ओटा पत्रबाट ९८ ओटा हानिकारक सूचना (Toxic Information) संप्रेषकलाई कानुन बमोजिम कारवाही गर्न नेपाल प्रेस काउन्सिल, नेपाल प्रहरीको साइवर व्यूरो र आयोगको केन्द्रीय निर्वाचन आचारसंहिता अनुमगन समितिमा पठाएको छ। निर्वाचनमा सामाजिक सञ्जालको प्रयोगबाट हुने मिथ्या र भ्रामक सूचना तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोगले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक कम्पनीसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखेको छ।