फडिन्द्र अधिकारी
लेखनाथ, माघ ९ गते। अघिल्लो प्रतिनिधिसभा चुनावमा देशैभर दलहरु विभिन्न खालका गठबन्धन गरी मैदानमा थिए। त्यस बेला समानुपातिकमा आएको मत नै दलहरुको खास मत मान्नुपर्ने हुन्छ। २०७९ को समानुपातिकको मत बराबर प्रत्यक्षमा मत आएको भए कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी हुने अवस्था देखिन्छ। तर यहाँका तीन वटै क्षेत्रमा एमाले उम्मेदवार विजयी बने।अघिल्ला चुनावका नतिजा र पछिल्लो अवस्थालाई मध्यनजर गर्ने हो भने गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा तीन पुराना दल र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा टक्कर हुने देखिन्छ।
कास्कीमा प्रतिनिधिसभा चुनावमा फरक फरक दलले जित्दै आएका छन्। २०७९ को चुनावमा क्षेत्र नम्बर १ मा तीन हजार ४७ बदर हुँदा समानुपातिकमा एमालेले २१ हजार चार सय ४३, कांग्रेसले १६ हजार दुई सय ६८ र रास्वपाले १५ हजार आठ सय ६४ मत पाएका थिए। साविक नेकपा (माओवादी केन्द्र)ले पाँच हजार एक सय आठ मत पाएको थियो।
क्षेत्र नम्बर २ मा सबैभन्दा बढी मत १४ हजार दुई रास्वपाले पाएको थियो भने दोस्रो बनेको नेकपा (एमाले)ले १३ हजार पाँच सय ४० र नेपाली कांग्रेसले १० हजार पाँच सय ५३ मत पाएका थिए। कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले १९ हजार तीन सय ४६, कांग्रेसले १५ हजार आठ सय ३१ र रास्वपाले १४ हजार एक सय ४३ मत पाएका थिए।
२०७४ र २०७९ सालको निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनका बेला जिल्लामा चार क्षेत्र रहेकोमा क्षेत्र नम्बर २ बाहेकमा साविक नेकपा (माओवादी) विजयी बनेका थिए। दोस्रो संविधानसभामा भने क्षेत्र नम्बर १ र २ मा कांग्रेस र क्षेत्र नम्बर ३ मा र ४ मा एमालेले विजय हाँसिल गरेका थिए।
यसपालि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कास्कीमा ४९ जनाले उम्मेदवारी दर्ता गराएकोमा सबैको उम्मेदवारी कायम भएको छ।
प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले कास्कीमा कसैले उम्मेदवारी फिर्ता नलिएको जानकारी दिनुभयो।
कास्कीमा यसपालिको चुनावमा १८ राजनीतिक दल र छ स्वतन्त्र उम्मेदवार मैदानमा छन्। राजनीतिक दलहरुले समावेशिताको ख्याल भने उम्मेदवारीमा गरेको देखिएन। प्रमुख राजनीतिक दलले महिला र दलितलाई उम्मेदवार बनाएका छैनन्। यहाँ पाँच जनामात्र महिलाको उम्मेदवारी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने कास्की क्षेत्र नम्बर २ मा विना गुरुङलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जिल्लामा महिला र दलित समूहबाट उम्मेदवार छैनन्। कास्की क्षेत्र नम्बर १ मा १७ जनाले उम्मेदवारी दर्ता दिएकोमा १६ राजनीतिक दलका र एक स्वतन्त्र छन्।
यहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तिलकबहादुर रानाभाट, एमालेका कास्की अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारी र नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण) र रास्वपाबाट खडकराज पौडेल (गनेस) मैदानमा हुनुहुन्छ। रानाभाट पहिलो पटक संसदीय चुनावमा आउनु भएको हो भने बैनबहादुर अधिकारी पालिका र जिल्ला समन्वय समितिमा विजयी भए पनि प्रतिनिधिसभामा पहिलो प्रयासमा हुनुहुन्छ।
२०६४ मा कास्की २ बाट संविधानसभा सदस्यमा निर्वाचित गुरुङ जिल्लामा दोस्रो जित निकाल्ने प्रयासमा हुनुहुन्छ। दोस्रो संविधानसभा र त्यसपछि भएका निर्वाचनमा पराजित हुनुभएका उहाँ साविक नेकपा (माओवादी)ले २०६४ र २०६५ मा यो क्षेत्रमा बनाएको विरासत फर्काउन प्रयत्नमा हुनुहुन्छ।
रास्वपाका पौडेल लेखन हुँदै राजनीतिमा आउनुभएको हो। अघिल्लो स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’ चलाउनुभएका उहाँ स्वतन्त्र उम्मेदवारी दिएर पोखरा महानगरको प्रमुखमा प्रतिस्पर्धामा हुनुहुन्थ्यो। त्यही बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह(बालेन)सँग सम्बन्ध भएपछि उहाँ शाहसँगै रास्वपा प्रवेश गरी अहिले उम्मेदवार बन्नुभएको हो।
यो क्षेत्रमा उज्यालो नेपाल पार्टीबाट खगोल वैज्ञानिक मनीषा झा, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, नेकपा (माओवादी)बाट कुमार परियार, जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीबाट हर्कबहादुर थापासमेत मैदानमा हुनुहुन्छ।
कास्की क्षेत्र नम्बर २ मा १२ राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवार मैदानमा छन्। नेपाली कांग्रेसका नेता माधवप्रसाद बास्तोला र एमाले केन्द्रीय सदस्य रश्मि आचार्य, नेकपाबाट हेमबहादुर थापा पराजुली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल र राप्रपाबाट हेमजंग गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।
बास्तोला, आचार्य र पौडेलको यो पहिलो संसदीय प्रतिस्पर्धा हो। नेकपाका पराजुली यसअघि नयाँ शक्तिबाट यही क्षेत्रमा उम्मेदवार बन्नुभएको थियो। एमालेका आचार्य पृथ्वीनारायण क्याम्पस स्ववियुका पूर्वसभापति हुनुुहुन्छ भने पराजुली तत्काली माओवादीले सञ्चालन गरेको जनयुद्धमा संलग्न हुनुहुन्थ्यो। रास्वपाबाट मैदानमा आउनुभएका पौडेल पूर्वपत्रकार हुनुहुन्छ।
कास्कीको क्षेत्र नम्बर ३ मा १५ जना मैदानमा छन्। यहाँ नेपाली कांग्रेसबाट मनोज गुरुङ र एमालेबाट दामोदर पौडेल बैरागीले टिकट पाउँदा नेकपाबाट गोपाल गिरी र रास्वपाबाट विना गुरुङ मैदानमा हुनुहुन्छ। कांग्रेस उम्मेदवार गुरुङ र नेकपाका गिरी र रास्वपाकी गुरुङ पहिलोपटक चुनावी मैदानमा आउनुभएको हो। एमालेका पौडेल भने निवर्तमान संसाद हुनुहुन्छ।
कास्कीमा तीन लाख आठ हजार पाँच सय ७२ मतदाता छन्। कास्की क्षेत्र नम्बर १ मा एक लाख १६ हजार आठ सय ७८, २ मा ८४ हजार एक सय ३४ मतदाता हुँदा क्षेत्र नम्बर ३ मा एक लाख सात हजार पाँच सय ६० मतदाता कायम भएका छन्।