सिराज खान
नेपालगन्ज, माघ ९ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके २ बाट उम्मेदवारी दर्ता गराउनु भएका २२ जना मध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार, बाँके क्षेत्र नम्बर दुईमा तीन जना स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराउनुभएकोमा जनता समाजवादी पार्टीका उम्मेदवार सरस्वतीप्रसाद बर्मा र नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिनु भएको हो।
बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले दुई जना उम्मेदवार बर्मा र गुप्ताले उम्मेदवारी फिर्ता लिएपछि अब २० जना उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा हुने बताउनुभयो।
उहाँले क्षेत्र नम्बर दुईबाट अब नेपाली कांग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिस्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, उज्यालो नेपाल पार्टीका शैलेन्द्र कुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेषको उम्मेदवारी कायम रहेको छ।
सोही प्रकारले नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव र स्वतन्त्र उम्मेदवारहरु मनोजकुमार चौधरी, शोरभजंग शाह र गोपालप्रसाद गिरीको उम्मेदवारी क्षेत्र नम्बर २ बाट कायम रहेको मुख्य निर्वाचन अधिकृत दाहालले बताउनुभयो।
जनता समाजवादी पार्टीका उम्मेदवार बर्माले एमालेका उम्मेदवार ईश्तियाक राईको समर्थनमा उम्मेदवारी फिर्ता लिएको बताउनुभयो।