• २३ कात्तिक २०८२, आइतबार

आयोजक टु स्टार क्लबलाई पुरुष र महिला दुबै विधामा उपाधि

blog

विजेता टिम टु स्टार क्लब पुरस्कारपछि सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, कात्तिक २३ गते ।
ऐतिहासिक बराहक्षेत्र कात्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुला पुरुष तथा महिला फुटबल प्रतियोगितामा आयोजक टु स्टार ग्रामीण सिर्जनशील क्लब, इम्बुङ विजेता बनेको छ । आयोजक क्लबले पुरुष र महिला दुवै विधामा उपाधि जित्न सफल भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा शनिबार साँझ सम्पन्न पुरुषतर्फको फाइनल खेलमा आयोजक टु स्टार क्लबले तिजोक युवा क्लब नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध चार गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

विजेता टु स्टार क्लबले नगद एक लाख १५ हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तिजोक युवा क्लब नवमीडाँडाले ७० हजार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसैगरी, महिलातर्फको उपाधि पनि आयोजक टु स्टार क्लबले आफ्नै पोल्टामा पार्न सफल भयो । खेलमा आयोजक क्लबले फेमेसुवा क्लबलाई टाइब्रेकरमा पराजित गर्दै विजेता बनेको हो ।

महिला विजेता टु स्टार क्लबले १५ हजार रुपियाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फेमेसुवा क्लबले आठ हजार रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

वराहक्षेत्र कात्तिके पूर्णिमा मेलासँगै फाल्गुनन्द गाउँपालिका–२, इम्बुङस्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको इनम खेलमैदानमा कात्तिक १७ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको आयोजना टु स्टार ग्रामीण सिर्जनशील क्लबले गरेको हो । क्लबका अध्यक्ष अर्जुन नेम्वाङका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।