नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २३ गते । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको धारा माध्यामिक विद्यालय सतप्रतिशत नतिजा निकाल्ने विद्यालयको रुपमा परिचित छ । वि.सं २०३६ पुस ८ गते स्थापना भएको यस विद्यालयमा २०५८ सालदेखि कक्षा ८सम्म, २०६२देखि कक्षा १० र २०६६ सालदेखि कक्षा ११ र १२ सम्म पढाई सञ्चालन गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले विद्यालय स्थापना गर्न कर्ण बहादुर पुन, इन्द्र बहादुर थापा, तिलक प्रसाद कँडेल तिलक थापा लगायतको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले मगर समुदायको बाक्लो बस्ती रहेको तंग्राममा शिक्षाको अभाव टार्न संस्थापकहरु विद्यालय सञ्चालनमा ल्याएको स्मरण गर्नुभयो । विद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट पढाई हुने गर्दछ । विद्यालयले निरन्तर रुपमा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।
उत्कृष्ट नतिजा हाँसिल गर्नका लागि विद्यालयले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसँग निरन्तर रुपमा छलफल पनि गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक कमला थापा सबैको सकरात्मक सक्रियता र एकताबाट मात्र राम्रो उपलब्धी निकाल्न सकिएको बताउनुभयो ।
‘‘यहाँ सबैको मेहनत छ, शिक्षक साथीहरु पनि इमानदारिताका साथ लाग्नु भएको छ, अभिभावकले पनि उत्तिकै साथ दिनु भएको छ र विद्यार्थी पनि उत्तिकै मेहनती छन् ।’’ प्रधानाध्यापक थापाले भन्नुभयो, ‘‘त्यहि कारण हामीले प्रत्येक वर्षको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएका छौँ ।’’
सिकाइलाई प्रभावकारी गराउन यहाँ विभिन्न विभागहरु गठन गरिएको छ । ति विभाग मार्फत अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ । विद्यार्थीले समुदायसँग मिलेर साँघु निर्माण गर्ने लगायतका कार्य समेत गर्दै आएका छन् ।
विद्यालयमा नतिजाको विषयलाई लिएर प्रत्येक महिनाको मसान्तमा शिक्षक कर्मचारीहरुको बैठक बसी आफ्नो कक्षा र विभागको रिर्पोटमाथि समीक्षा गरी भावी योजना निमार्ण गरिन्छ । धारा माध्यामिक विद्यालयमा शिक्षक तथा कर्मचारीको सङ्ख्या २१ रहेको छ भने ३०१ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागु गरिएको छ । यहाँ अध्ययनरत विद्यार्थीले किबी उत्पादन गर्नुका साथै बिक्री गर्दै आएका छन् । विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत सांस्कृतिक कार्यक्रम, समुदायसँग मिलेर जोखिम न्यूनीकरण, भलिबल, कबड्डी लगायतका खेलकुद कार्यक्रम निरन्तर सञ्चालन गरिदै आएको छ ।
विद्यालयले विभिन्न परीक्षामा उत्कृष्ट नतिजा निकालेको कारण विभिन्न क्षेत्रबाट पुरस्कृत हुँदै आएको छ । प्रधानाध्यापक थापाले विद्यालयले जिल्ला शिक्षा कार्यालय (हालको शिक्षा समन्व ईकाई), काठेखोला गाउँपालिका लगायतका विभिन्न निकायबाट पुरस्कृत भएको बताउनुभयो । विद्यालयमा छात्राबास सञ्चालन गरिएको छ । यहाँ कम्प्युटर कक्षापन सञ्चालन गरिन्छ ।
नेपाल सरकारले तोकेको सार्वजनिक विदा र बर्षे विदामा पनि विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिन्छ । जसले राम्रो नतिजाका लागि सघाऊ पुर्याएको छ । विद्यालयमा सिकाई वृद्धि गर्नका लागि निरन्तर शैक्षिक विचार गोष्ठी गरिँदै आएको छ ।
विद्यालयले शिक्षकहरुको सुविधालाईलाईपनि उत्तिकै महत्त्व दिदै आएको छ । एक शिक्षक एक ल्यापटप कार्यक्रमका लागि विद्यालयले सघाऊ पुर्याउँदै आएको छ ।
करारमा राखिएका शिक्षकका लागि आन्तरिक श्रोतबाट पोशाक भत्ता उपलब्ध गराइनुका साथै बिमा र सञ्चार खर्चको व्यवस्था पनि गरिएको छ । यसले सिकाई गुणस्तर बनाउन सघाऊ पुर्याएको बताइन्छ ।
शिक्षक अभिभावक संघका संयोजक टिका संगम बिकले विद्यालयको अवस्था, पठनपाठनको अवस्था, सिकाइको अवस्थालाई लिएर आफुहरु निरन्तर बैठक बस्ने बताउनुभयो । त्यसलेपनि नतिजामा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
विद्यालयले आन्तरिक श्रोत जुटाउन देउसी भैलो खेल्ने, सहयोग माग्ने, किबी उत्पादन र बिक्री गर्दै आएको छ ।
विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जङ्कफूड (पत्रु खान)लाई निषेध गरिएको छ । यहाँका शिक्षक र विद्यार्थी समय पालनलाई उत्तिकै ध्यान दिने गरेका छन् ।
विद्यालयमा उपस्थित नहुने विद्यार्थीको घरमा वर्षमा दुई पटक शिक्षकले होम भिजिट गरिँदै आएको छ । विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकका लागि छुट्टाछुट्टै आचार संहिता बनाइएको छ । त्यो कार्यान्वयन गर्नुपर्ने सबैको दायित्व हुन्छ ।
यहाँ अध्ययन गरेका विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गरि विभिन्न सेवामा संलग्न रहँदै आएका छन् । विद्यालयको विकासका लागि व्यवस्थापन समितिमा रहेको थुप्रै व्यक्तित्वहरुले महत्त्वपूर्ण योगदान पु¥याएका छन् । धारा माध्यामिक विद्यालय व्यवस्थाकीयदेखि नतिजाका लागि अब्बल ठहरिदै आएको छ ।
धारा माध्यामिक विद्यालय गुणस्तरीय शिक्षाका लागि परिचित छ । शिक्षक, विद्यार्थी र अभिभावकको निरन्तर मेहनतकै कारण विद्यालयले यो उपलब्धी हाँसिल गरेको हो । अन्य विद्यालयका लागि पनि यो पाठ हुन सक्छ है ।