• १५ जेठ २०८२, बिहिबार

मूल्य घट्दा इन्धनबापत बाहिरिने रकम जोगियो

blog

काठमाडौँ, जेठ १४ गते । डिजेल, पेट्रोल र खाना पकाउने एलपिजी ग्यासको आयात बढेको छ । आन्तरिक बजारमा माग वृद्धि भई इन्धन खपत बढेसँगै आयातमा समेत वृद्धि भएको तथ्याङ्कले देखाएको छ । 

भन्सार विभागका तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) मा डिजेल, पेट्रोल र ग्यासको आयात बढेको छ । यस अवधिमा एक खर्ब दुई अर्ब ३८ करोड ९७ लाख ७५ हजार रुपियाँ बराबरको ११ लाख ४७ हजार ६५७ किलोलिटर डिजेल आयात भएको छ । 

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड  १३ लाख आठ हजार रुपियाँ बराबरको ११ लाख नौ हजार ११० किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो वर्षको तुलनामा रकममा १३ अर्ब रुपियाँले डिजेल आयात कम भए पनि परिणाममा भने ३८ हजार किलोलिटर बढी आयात भएको छ । 

यस्तै १० महिनामा ५३ अर्ब ५८ करोड ७९ लाख छ हजार रुपियाँ बराबरको छ लाख १२ हजार १२ किलोलिटर पेट्रोल आयात भएको छ । गत वर्ष सो अवधिमा ५६ अर्ब ८० करोड १३ लाख ५९ हजार रुपियाँ बराबरको पाँच लाख ६७ हजार ९३५ किलोलिटर पेट्रोल आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा तीन अर्ब रुपियाँको पेट्रोल आयात कम भए पनि परिमाणमा भने ४४ हजार ७७ किलोलिटर आयात बढी भएको हो । 

यस्तै खाना पकाउने एलपिजी ग्यास भने रकम र परिमाण दुवैले आयात बढी भएको तथ्याङ्कले देखाएको छ । १० महिनामा ५१ अर्ब ८१ करोड ९१ लाख ३४ हजार रुपियाँ बराबरको चार लाख ५६ हजार ८८० मेट्रिक टन ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा ४७ अर्ब ९८ लाख ५४ हजार रुपियाँ बराबरको चार लाख ३५ हजार ९६२ मेट्रिक टन ग्यास आयात भएको छ । गत आवको तुलनामा चार अर्ब रुपियाँ बराबरको २१ हजार मेट्रिक टन ग्यासको आयात बढी भएको तथ्याङ्कले देखाएको छ ।

नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरिएको छ । सोही अनुसार व्यवसायीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट आयात गर्ने गरेका छन् ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले खपत बढेका कारणले गर्दा पनि इन्धन आयातमा वृद्धि भएको जानकारी दिनुभयो । विकासनिर्माणको सिजन सुरु भएकाले डिजेल खपत बढेकाले आयातमा समेत वृद्धि  भएको उहाँको भनाइ छ । 

छिमेकी मुलुक भारतको रक्सौलभन्दा नेपालमा डिजेल प्रतिलिटरमा १३ रुपियाँ र पेट्रोल नौ रुपियाँ सस्तो हुँदा पनि बढी आयात हुने गरेको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले गत वर्षको तुलनामा मूल्यमा भने डिजेल र पेट्रोलको आयात कमी भएको उहाँको भनाइ छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य १५ प्रतिशतले घटेको छ । जस कारणले गर्दा पनि इन्धनका लागि बिदेसिने रकममा कमी आएको हो । 

कुल पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशत हिस्सा डिजेलको रहेको छ । बजारमा अन्य इन्धनको तुलनामा डिजेल खपत बढी हुने हुँदा आयातको हिस्सा सबैभन्दा धेरै रहेछ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गरेको बताइएको छ ।