• १२ साउन २०८१, शनिबार

हाँस्य कलाकार उत्तम केसी : 'जोइटिङ्ग्रे' देखि 'चुँईचुँई' सम्म

blog

भिडियो : मनोजरत्न शाही ।

काठमाडौं, जेठ १७ गते । रङ्गमञ्चदेखि चलचित्रसम्मको यात्राको तय गर्नुभएका कलाकार हुनुहुन्छ उत्तम केसी । उहाँ नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रङ्गमञ्चमा नाटक गर्ने कलाकार हुनुहुन्छ । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गर्नुभएको हो । केसी बारीको पाटामा रङ्गमञ्च बनाएर राजाका जन्मोत्सव, कृष्ण जन्मअष्टिमी जस्ता शुभ दिन पारेर नाटक देखाउने गर्नुहुन्थ्यो ।

२०३८ मा ‘जोइटिङ्ग्रे’ नाटकबाट रङ्गमञ्च यात्रा तय गरेका केसीले नेपालका विभिन्न स्थानहरुमा पुगेर अभिनय गरिसक्नुभएको छ । राष्ट्रिय नाचघरको रङ्गमञ्च, सभागृहको रङ्गमञ्चर रोयल एकेडेमीमा दिनमा ३ वटा नाटक गरेको केसी सम्झिनुहुन्छ । 


रङ्गमञ्चदेखि चलचित्रसम्मको यात्रा

केसीका अनुसार रङ्गमञ्चमा कुनै प्रकारको बन्देज हुँदैन । “निर्देशनपछि रंगमञ्चमा एकमुष्ट अभिनय गर्न सकिन्छ भने फिल्ममा क्यामेराको फ्रेमभित्र रहेर अभिनय गर्नुपर्ने कारण हामी खुल्न सक्दैनौं, अभिनयमा फरक छैन”, उहाँले भन्नुभयो । 

नेपाली रङ्गमञ्चले गर्दा चलचित्र क्षेत्रको विकास भएको हो, आज पनि रङ्गमञ्च छ, भोलि पनि रहनेछ र कलाकारहरु भनेको यसरी नै बाँच्ने हो”, उहाँले भन्नुभयो । 

रङ्गमञ्चबाट आएका कलाकार

केसीका अनुसार रङ्गमञ्चबाट आएका कलाकारलाई यत्तिकै कलाकार बनेको जस्तो व्यवहार गर्छन् । “नेपालमा चलचित्र पछिमात्र विकास भएको हो,” उहाँ भन्नुहुन्छ, “नेपालमा शाही नेपाल चलचित्र संस्थान थियो जहाँबाट पाँच वर्षमा एक वटा मात्र चलचित्र बन्थे ।” 

यसरी २०४२ सालमा टेलिभिजनको स्थापना कालदेखि केसीले विभिन्न टेलिफिल्म र सिरियलमा अभिनय गर्नुभएको छ ।

चलचित्रमा डेब्यु

२०० भन्दा बढी टेलिफिल्ममा अभिनय गर्नुभएका केसीले 'आदर्श नारी'बाट चलचित्रमा डेब्यु गर्नुभएको हो । उहाँले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिजसहित २ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । 

अहिले पनि अभिनयलाई निरन्तरता दिनुभएका केसी विशेषगरी ‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आउनुभएको हो । जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उहाँको ‘चुँईचुँई’ यात्रा सुरु भएको उहाँ बताउनुहुन्छ । 

यस्तै, हाँस्य कलाकारको रुपमा चिनिएका केसीलाई अरु अभिनयभन्दा हँसाउन धेरै गाह्रो हुने अनुभव छ । उहाँ भन्नुहुन्छ,“तुरुन्तै मान्छेको मुड परिवर्तन गर्नुपर्ने हुन्छ, जुन निकै गाह्रो काम हो ।”