ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–१ को विकट बस्ती गुर्जामा सडक पुर्याउन स्थानीयहरूले दस लाख रुपियाँ सहयोग गरेका छन् । गुर्जा समाज काठमाडौँमा आबद्ध भएका गुर्जालीहरूले निर्माणाधीन लुलाङ–गुर्जा सडक अन्तर्गत कम्जाखानी खोलामा बेलिब्रिज निर्माणका लागि सो सहयोग उपलब्ध गराएका हुन् ।
गुर्जाबाट काठमाडौँ गई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध भएका गुर्जालीहरूले देउसीभैलो र सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन भएको उक्त रकम पुल निर्माणका लागि सहयोग गरेको गुर्जा समाज काठमाडौँकी अध्यक्ष लीलमाया छन्त्यालले जानकारी दिनुभयो ।
धौलागिरि गाउँपालिकला–२, लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म लैजानका लागि खोलामा बेलिब्रिज निर्माणका लागि गाउँलेहरूले सहयोग जुटाएको धवलागिरी गाउँपालिका वडा नम्बर १,गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सडक निर्माणका लागि सङ्घ,प्रदेश र स्थानीय सरकारबाट बजेट विनियोजन भएपनि पुल निर्माणका लागि हाललाई रकम अभाव भएकाले स्थानीयहरूले चन्दा सहयोग जुटाउने अभियान थालेका हुन ।’’
सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजन भएको रकमबाट लुलाङ–गुर्जा सडक निर्माण भइरहेको छ । गुर्जामा एकवर्ष भित्रमा सडक पुर्याउने गरी सडक निर्माणको काम भइरहेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।