• ११ मंसिर २०८२, बिहिबार

विद्युतीय जोखिम न्यूनीकरण गर्न विद्यार्थी सचेतना अभियान

blog

विद्यालयमा विद्युतीय सचेतना कक्षा सञ्चालन गर्दै विद्युत प्राधिकरण । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), मङ्सिर ११ गते । नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युतीय जोखिम न्युनीकरण गर्न विद्यार्थी सचेतना अभियान सुरु गरेको छ । विद्युतीय सामग्रीको उपयोगमा सावधानी अपनाउन नजाने व्यक्तिको ज्यान समेत जाने र त्यसको बढी जोखिममा विद्यालय उमेरका बालबालिका बढी हुने भएकाले विद्यालय केन्द्रित सचेतना अभियान सुरु गरिएको वितरण केन्द्रले जनाएको छ।

विद्युतीय सामग्रीहरूको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू, सामग्री, जोखिम र सावधानीका उपायका बारेमा विद्यार्थीलाई सचेत बनाइएको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका सूचना अधिकारी भरत पोखरेलले जानकारी दिनुभयो । विद्यालय तहबाट समुदाय र घर, घरमा सचेतना फैलाउन निकै सहज र प्रभावकारी भएको प्रतिक्रिया आएकाले जिल्लाभर अभियान सञ्चालन गरिने पोख्रेलले बताउनुभयो । 

पोख्रेलका अनुसार अहिलेसम्म मालिका गाउँपालिका-७, घमिरमा रहेको देवीस्थान माध्यमिक विद्यालय, धुर्कोट गाउँपालिका ७ मा रहेको वाग्ला माध्यमिक विद्यालय र रेसुङ्गा नगरपालिका ५ को जनसहयोग माविका विद्यार्थीलाई विद्युतीय सुरक्षा सम्बन्धी सचेतना प्रदान गरिएको छ ।

विद्यालय स्तरमै पुगेर विद्युतीय सुरक्षा सम्बन्धी जानकारी पाउँदा विद्यार्थीले सचेत र खुसी महसुस गरेका छ्न् । विद्यालयले पनि अबको युग नयाँ प्रविधी र प्राविधिक ज्ञान बिना जीवन सहज र सरल नभएकाले प्राधिकरणको अभियान निकै उपलब्धिमुलक रहेको जनाएका छन् ।