• ११ मंसिर २०८२, बिहिबार

शास्त्रीय र बहुभाषिक सङ्गीतमा उदाउँदै सरस्वती

blog

शास्त्रीय सङ्गीतमा बलियो जग, १८ भाषामा गीत गाउने क्षमता र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थितिका कारण सरस्वती खत्री नेपाली शास्त्रीय सङ्गीतका चिनिने नाम बन्नुभएको छ । सुर–सुधा समूहसँग करिब १० वर्षदेखि सक्रिय उहाँ ‘वैष्णव जन’ भजनको प्रस्तुतिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाटै प्रशंसा प्राप्त गर्ने केही नेपाली कलाकारमध्ये एक हुनुहुन्छ । सङ्गीतलाई अनुशासन, समर्पण र मौलिकताको यात्रा मान्ने सरस्वतीसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :


 तपाईंको शास्त्रीय सङ्गीतको यात्रा र सुर–सुधासँगको सानिध्यबारे केही बताइदिनुस् न ?

सबैभन्दा पहिले मैले बलराम राजवंशीसँग लगभग एक वर्ष शास्त्रीय सङ्गीत सिकेँ । त्यसपछि चण्डी काफ्लेबाट करिब चार वर्ष प्रशिक्षण लिएँ । पद्मकन्या क्याम्पसमा चार वर्ष शास्त्रीय सङ्गीतमा स्नातक अध्ययन पूरा गरेँ । विगत ४–५ वर्षदेखि म सुर–सुधा संस्थामा निरन्तर सिक्दै आइरहेकी छु । सुर–सुधा साङ्गीतिक समूहमा आबद्ध भएको करिब १० वर्ष भयो । समूहमा प्रवेश गर्नुअघि संस्थापक सुरेन्द्र श्रेष्ठले मेरो भोकल टेस्ट लिनुभयो । त्यसपछि म लगभग ४–५ वर्ष उहाँकै मार्गदर्शनमा सिकिरहेँ र त्यसपछि मात्र उहाँहरूले मलाई समूहमा समावेश गर्नुभएको हो ।

 तपाईंले अन्तर्राष्ट्रिय भाषाका गीत पनि गाउनुभएको छ । कुन कुन देशका भाषामा गीत गाउनुभएको छ ? र कसरी सम्भव भयो ?

विभिन्न भाषामा गीत गाउन प्रेरणा मैले सुरेन्द्र श्रेष्ठबाट नै पाएँ । कुनै भाषाको गीत गाउनुअघि त्यसको सही उच्चारण, शब्द–स्पष्टता र शैली बुझ्नु अत्यन्त महìवपूर्ण हुन्छ । सुर–सुधाका अन्तर्राष्ट्रिय यात्रामा दर्शकले आफ्नै भाषामा गीत सुन्दा अत्यन्त खुसी हुने भएकाले मैले पनि धेरै भाषामा गीत गाउन सिकेँ । अहिलेसम्म मैले रुसी, श्रीलङ्काली, बङ्गाली, जापानी, अरेबिक, चिनी, भियतनामी, टर्किस, ओमानी, कोरियन, हिन्दी, अङ्ग्रेजी, गुजराती र नेपालीसहित १८ भाषामा गीत गाएकी छु ।

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तपाईंलाई गुजराती लोकगीतबारे सोध्नुका साथै ‘वैष्णव जन तो’ भजन सुनेर ट्विटसमेत गर्नुभएको क्षण तपाईंका लागि कस्तो अनुभव थियो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रोटोकल’ तोडेर प्रस्तुति स्थलमै आएर मेरो गुजराती गीतबारे सोध्नुभएको क्षण मेरा लागि अत्यन्त अविस्मरणीय थियो । विसं २०१८ मा काठमाडौँ र २०२२ मा लुम्बिनीमा समेत उहाँले स्टेजमै आएर गीतको प्रशंसा गर्नु एक कलाकारका लागि अत्यन्त ठुलो सम्मान हो । ‘वैष्णव जन’ भजन सुनेपछि उहाँले सुर–सुधा र मेरो नामसहित ट्विट गर्नु पनि त्यति नै प्रेरणादायी अनुभव बन्यो । उहाँले लेख्नुभएको थियो, “गान्धीजीको प्रिय भजन ‘वैष्णव जन’ सुर–सुधा साङ्गीतिक समूह नेपालको गायिका सरस्वती खत्रीको सुमधुर आवाजमा सुन्दा मेरो नेपाल भ्रमणका स्मृति ताजा भएका छन् । ‘पीर पराई जाने रे’ भजन भारत र नेपालको सभ्यतामा निहित मूल्यलाई प्रतिविम्बित गर्दछ ।”

 शास्त्रीय सङ्गीतमा लाग्नु रहर थियो कि केही गर्ने अठोट ? यसबाट जीविकोपार्जन सम्भव छ ?

शास्त्रीय सङ्गीतप्रति मेरो संलग्नता केवल रहर मात्र होइन, गहिरो उद्देश्यसँग पनि जोडिएको छ । यसले मेरो व्यक्तिगत विकास, भावनात्मक अभिव्यक्ति र साङ्गीतिक समझलाई परिष्कृत गरेको छ । सङ्गीतले सिकाएको अनुशासन, धैर्य र संवेदनशीलता अहिले मेरो दैनिक जीवनको आधारशिला बनेको छ । त्यसैले शास्त्रीय सङ्गीत मेरा लागि रुचि र अठोट दुवैको सुन्दर सङ्गम हो । जीविकोपार्जनको कुरा गर्दा अवश्य सम्भव छ । संसारका धेरै देशमा शास्त्रीय सङ्गीत र भजनबाट जीवनयापन हुँदै आएको छ । नेपालमा पनि यसको सम्भावना विस्तारै बढ्दो छ । समय, परिस्थिति र श्रोताको रुचि अनुसार विविधता ल्याएर उचित प्रस्तुति दिनसके कलाकारले स्थायी रूपमा मात्र होइन, उत्तम अवसर र सम्मान पनि प्राप्त गर्न सक्छ ।

 आजको तीव्र प्रतिस्पर्धी सङ्गीत बजारमा कलाकार हराउने जोखिम कत्तिको हुन्छ ?

आज गीत/सङ्गीतको संसार विशाल हुँदै गएको छ र प्रतिस्पर्धा पनि तीव्र छ तर भिडमा हराउनु अपरिहार्य छैन । कलाकारले आफ्नो साधना गहि¥यायो, मौलिक पहिचानलाई प्रस्ट बनायो र निरन्तर अभ्यासको धुनमा आफूलाई सुदृढ बनायो भने भिडले छोप्दैन बरु उचाल्छ । बजार फराकिलो छ, प्रतिस्पर्धा कडा छ तर तयारी, समर्पण र आफ्नै मौलिकताको उज्यालो लिएर अघि बढ्ने कलाकार कहिल्यै हराउँदैन ।