मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, मङ्सिर ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा नागरिकलाई आफूले चाहेको दल र उम्मेदवार छनोट गर्ने अधिकार भएको बताउनुभएको छ । बुधबार पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधासम्पन्न प्रशासनिक भवन उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई जोगाउने काम जनप्रतिनिधि र जनताको भएको बताउनुभयो ।
लोकतन्त्र रहेमा व्यवस्था र समग्र अधिकार रहने भएकाले जनता सचेत हुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “आफूलाई नेता मन नपर्ना सक्छ, पार्टी मन नपर्न सक्छ, त्यो सबै निर्णय निर्वाचनको माध्यमबाट प्रयोग गर्नु पर्छ । निर्वाचन लोकतन्त्रमा हुन्छ । त्यसैले यो व्यवस्था जोगाउनु आवश्यक छ ।”
उहाँले लोकतन्त्र, सङ्घीयता र समावेशी गणतन्त्रले देशको भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागु भइसके पनि यस व्यवस्थाको विकास प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सव्रिmय रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा विकास पुगेको, बाटो, पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन् तर यस्तो व्यवस्था धेरै टिक्दैन । समयले त्यसलाई छोडेर जान्छ । लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ, गल्ती गर्नेलाई कानुन अनुसार दण्डित गर्न सकिन्छ र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिन्छ ।”
कार्यव्रmममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षालगायत विकासनिर्माण क्षेत्रमा पालिकाले धेरै लगानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आयआर्जनको पाटोतिर फर्कंदा, यहाँका धेरै नागरिकलाई बच्चा पढाउन गाह्रो थियो । घर चलाउन कठिन समस्या थियो । त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसर सिर्जना गरेको छ । धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन् । विदेश जाने तयारीमा रहेका युवा अहिले पाँच–दस वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुन सक्छ भन्ने सोचमा अगाडि बढेका छन् । यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ ।” बकैया गाउँपालिका–३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालयपरिसरमै चारतले भव्य भवन निर्माण भएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रस्टको भवनमा रहेको थियो ।