• ११ मंसिर २०८२, बिहिबार

बन्यजन्तुको बस्तीमा प्रवेश गर्ने जोखिमले क्यामेरा जडान

blog

चरन क्षेत्रबाट बस्तीमा झर्ने बन्यजन्तुको निगरानीका लागि जडान गरिएको अनलाइनबाट अनुगमन गर्ने क्यामेरा । तस्बिर सौजन्य : एक्याप लोमान्थाङ

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर ११ गते । उपल्लो मुस्ताङको उच्च क्षेत्रमा हिमपातसँगै बासस्थान र आहाराको अभावका कारण बस्ती नजिक आउने बन्यजन्तुको अनलाइनबाट निगरानी गर्न क्यामेरा जडान गरिएको छ । चरन क्षेत्रमा बाख्लो हिउँ जमेपछि बस्ती तथा गोठ आसपासमा झर्ने आहारा र शिकारी प्रजातिका बन्यजन्तुको निगरानीका लागि क्यामेरा राखिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, लोमान्थाङले अनलाइनबाट बन्यजन्तुले बासस्थान अर्थात ‘कोर एरिया’मा छोडेर बस्ती क्षेत्रमा प्रवेश गर्दा हुने मानवीय जोखिमलाई न्यूनिकरण गर्न लोमान्थाङमा ३ वटा र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा २ वटा अनलाइनबाटै नियमित अनुगमन गर्न सकिने क्यामेरा राखिएको प्रमुख उमेश पौडेलले बताउनुभयो ।

प्रमुख पौडेलले भन्नुभयो, ‘‘चरन क्षेत्र र बासस्थान हिउँ जमेको हुन्छ, आहारा खोज्न आउँदा मानव–वन्यजन्तु द्वन्द्वको सम्भावना धेरै हुन्छ ।’’

एक्यापले वर्षभरी धेरै बन्यजन्तुको आवजावत हुने मार्गलाई केन्द्रित गरी थप तीन वटा क्यामेरा समेत राख्ने तयारी गरेको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर र ४ हजार मिटर उचाइमा राखिएको क्यामेराको अनुगमनमा बस्ती क्षेत्रमा प्रवेश गर्दा चोरीसिकारीको सम्भावनालाई समेत निगरानी गर्ने प्रमुख पौडेलले बताउनुभयो ।

हिमपातको सिजनमा बन्यजन्तुलाई बासस्थानको सुरक्षा र प्रयाप्त आहारा नै प्रमुख चुनौती मानिन्छ । आहारा प्रजातिको नाउर, हिमाली फ्याउ मुसा, झारल, घोरलले बस्ती आसपासका खेतबारीमा किसानले लगाएको बाली नष्ट गर्ने र शिकारी प्रजातिको हिउँ चितुवा, जङ्गली कुकुरले बन्यजन्तु बाहेक पशुचौपायालाई आक्रमण गर्ने गर्दछन् । चरन क्षेत्रबाट भौतारिदैं बस्ती आसपासमा आउने बन्यजन्तुबाट मङ्सिरदेखि फागुन महिनासम्म जोखिम मानिन्छ । मानिसले बिरलै देख्ने हिउँ चितुवा आहाराको खोजीमा बस्ती नजिक समेत देखिन्छ । एक्यापले जडान गरेको क्यामेरा नजिक बन्यजन्तु समेत देखिन थालेका छन् ।

यसैबिच एक्यापले उच्च क्षेत्रमा आहारको अवस्थाका बारेमा समेत अनुगमन सुरू गरेको छ । इलाका कार्यालय लोमान्थाङअन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ र लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्छ । एक्यापले यसअगाडी हिउँ चितुवाको बासस्थानमा समेत क्यामेरा जडान गरी अनुगमन गरिरहेको छ । बन्यजन्तु र पशुचौपाया छेक्ने एक्पाप लोमान्थाङले चालु आर्थिक वर्ष २०८२/०८३ सालमा लोमान्थाङ–२, अर्कामा, लोमान्थाङ–३, नाम्ग्यालमा लोमान्थाङ–४, किमलिङमा खेती जोगाउन तारबार समेत गरेको छ ।तारबारले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणमा समेत सघाएको छ । चरन क्षेत्रमा प्रयाप्त आहारा नहुदाँ बन्यजन्तु बस्ती आसपासका क्षेत्रमा आउने गरेकाले तारबार एक्यापको प्राथमिकतामा परेको छ ।

त्यसैगरी, एक्याप इलाका कार्यालय जोमसोमले समेत हिउँ जमेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ क्षेत्रको उच्च हिमाली लेक र खर्कहरुमा वन गस्ती गरेको छ । थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्रका गाउँपालिका एक्याप इलाका कार्यालय जोमसोमको मातहतमा पर्छ । यसैबिच उपल्लो मुस्ताङमा चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ ।उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको समयमा तापक्रम माइनस डिग्रीमा झर्न थालेपछि स्थानीयको दैनिक जीवनमा प्रतिकूल असर पुगेको छ ।