• ११ मंसिर २०८२, बिहिबार

भूकम्पप्रभावित अनुमोदित

blog

गिठाकोटस्थित भूकम्पप्रभावितका टहरा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ११ गते । रुकुमपश्चिममा साढे आठ हजार भूकम्पप्रभावितको नाम अनुमोदन भएको छ । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकामध्ये आठ हजार ५७६ लाभग्राहीको नाम आवास पुनर्निर्माण तथा प्रबलीकरणका लागि अनुमोदन भएको हो । 

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले उक्त नाम अनुमोदन गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिनुभयो । भूकम्पबाट पूर्ण वा आंशिक रूपमा क्षति भएका निजी आवासको विस्तृत क्षति आकलनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको विवरणका आधारमा प्रभावितको नामावली अनुमोदन भएको हो ।

यसअघि प्राधिकरणबाट खटिएका प्राविधिकले विस्तृत क्षति आकलनको कार्य सम्पन्न गरेर विपत् सूचना प्रणालीमा प्रविष्ट गरेका थिए । सो विवरणमध्ये जिल्लाका चार वटा पालिकाका लाभान्वितको सङ्ख्या अनुमोदन भएको हो ।

अनुमोदन भएकामध्ये आठबिसकोटमा ९६ घर पुनर्निर्माण र ३५१ वटा प्रबलीकरणमा, मुसीकोट नगरपालिकामा २५३ वटा पुनर्निर्माण र ३७४ वटा प्रबलीकरणमा, त्रिवेणी गाउँपालिकामा एक हजार ४१६ वटा पुनर्निर्माण र एक हजार ९७० प्रबलीकरणमा र सानीभेरी गाउँपालिकामा दुई हजार ९३५ घर पुनर्निर्माण र एक हजार १८१ घर प्रबलीकरणमा परेका छन् । प्रमुख जिल्ला अधिकारी थानीका अनुसार चौरजहारी नगरपालिका र बाँफीकोट गाउँपालिकाको विवरण भने अनुमोदन हुन बाँकी छ । 

उहाँका अनुसार उक्त लाभग्राही सङ्ख्या सम्बन्धित स्थानीय विपत् व्यवस्थापन समितिबाट विपत् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम अनुमोदन भई विपत् सूचना प्रणालीमा प्रविष्टि भएर पेस हुन आएका हुन् । लाभग्राहीलाई सोही कार्यविधि अनुसार कायम गरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने गरी बैठकले निर्णय गरेको हो । सो बैठकले जाडोमा हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार भूकम्पबाट रुकुमपश्चिम र जाजरकोटमा १५४ जनाको ज्यान गएको थियो भने २६ हजार ५५७ घर पूर्ण र ३५ हजार ४५५ घर आंशिक क्षति भएका थिए । ३६४ घाइते घाइते भएका थिए । रुकुमपश्चिमका मात्र ५३ जनाको ज्यान गएको थियो भने ३२ हजार ९९६ परिवार लाभग्राही कायम भएका थिए ।