यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) मङ्सिर ११ गते । सरकारले बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन गरे पनि पुल निर्माण सुरु नहुँदा स्थानीय चिन्तित भएका छन् ।
बजेट विनियोजन भएपनि बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरिया जोड्ने जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छैन । अघिल्लो आर्थिक वर्षको पुस अन्तिम सातामा बजेट सुनिश्चितता भए पनि सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले समयमा इस्ट्यान्डर्ड विडिङ डकुमेन्ट नबनाएको हुनाले निर्माण प्रक्रिया अगाडि बढेको थिएन । चालु आर्थिक वर्षमा पुनः बजेटको स्रोत सहमति लिनुपर्ने र हाल सम्म स्रोत सहमति नभएको हुनाले पुल निर्माण कार्य अगाडि बढेको छैन ।
अघिल्लो आर्थिक वर्षमा बजेट सुनिश्चितता हुँदा समेत ठेक्का खुल्न नसकेको कारणले यस वर्ष फेरी बहुवर्षे बजेट सुनिश्चिता लिनुपर्ने हुन्छ । गत वर्ष नै बनेको इस्ट्यान्डर्ड विडिङ डकुमेन्टलाई पुनः बजेट सुनिश्चितताका लागि फाइल अगाडि बढाएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । बहुवर्षे स्रोत सहमतिको लागि विभागबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगमा फाइल पुगेको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो ।
योजना आयोगले फाइल स्विकृत गरेपछि अर्थमन्त्रालयले बजेट सुनिश्चितताका लागि फाइल स्विकृत गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “गत असोजदेखि फाइल अगाडि बढाएको हो आशा गरौँ छिट्टै स्रोत सहमति हुने छ । स्रोत सहमति आउना साथ पुल डिजाइन र निर्माणका लागि तत्कालै ठेक्का गर्ने छौँ ।”
गत आर्थिक वर्षमा पुल ठेक्का खोल्न सकिएको भए हाल डिजाइन र निर्माण सुरु हुने थियो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ । गत बर्ष सरकारले एक करोड रकम पुल निर्माणका लागि विनियोजन गरेको थियो ।
जब्दीघाट पुल निर्माणका लागि बजेट आएपनि निर्माण प्रक्रिया सुरु नहुँदा बर्दियाबासीहरू निराश भएका छन् । बजेट सुनिश्चितता भएपछि पुलको काम सुरु हुन्छ भन्ने सोचेको थिएँ बारबर्दिया नगरपालिका वडा ५ का वडाध्यक्ष लालबहादुर चौधरीले बताउनुभयो । पुल नहुँदा २० मिनेटको बाटो जोखिमपुर्ण रूपमा डुङ्गा तर्दा डेढ घण्टासम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।
पक्की पुल नहुँदा जब्दीघाट भएर आवत जावत गर्ने बर्दियावासीहरू मर्कामा परेको बारबर्दिया नगरपालिका-७, घुस्राका अतिराम चौधरीले बताउनुभयो । चार पाङ्ग्रे सवारी साधनलाई करिब ३० किलोमिटर दुरी पार गर्नु पर्ने उहाँले बताउनुभयो ।
पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदीको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो। भासिए पनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरीरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पूर्णरूपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।