• १२ फागुन २०८१, सोमबार

उत्पादन घट्दा अलैँची निर्यातमा गिरावट

blog

काठमाडौँ, फागुन ११ गते । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा अलैँची निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा अलैँची निर्यात बढे पनि परिमाणमा भने कमी आएको छ । 

चालु आवको सात महिनामा पाँच अर्ब ३९ करोड ७६ लाख ९० हजार रुपियाँ बराबरको ३० लाख २८ हजार ४९५ किलोग्राम अलैँची निर्यात भएको छ । गत आवको सो अवधिमा चार अर्ब ४४ करोड ३५ लाख २६ हजार रुपियाँको ३१ लाख ८३ हजार ५६० केजी अलैँची निर्यात भएको थियो । 

अलैँचीले उच्च मूल्य पाउँदा गत वर्षको तुलनामा यस वर्ष झन्डै एक अर्ब रुपियाँ बढीको निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीले उच्च मूल्य पाए पनि उत्पादन न्यून हुँदा निर्यातमा कमी आएको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय बजारमा प्रतिमन (४० केजी)  अलैँचीको मूल्य एक लाख १२ हजार रुपियाँसम्म पुग्यो,” भट्टराईले भन्नुभयो, “अलैँचीको उत्पादन राम्रो भएको भए ठुलो परिणाममा विदेशी मुद्रा भित्रिने थियो तर उत्पादमा कमी हुँदा निर्यातमा समेत कमी आयो ।” 

गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले अलैँचीको उत्पादनमा कमी आएको उहाँले भट्टराईले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्ने र अलैँचीका बोटमा रोग लाग्दा बोटसँगै गानो कुहिएकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ । सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक महिनाअघि प्रतिमन एक लाख १२ हजार रुपियाँ पुगेको अलैँचीको मूल्य हाल एक लाख आठ हजार रुपियाँमा झरेको छ ।

सङ्घका अनुसार १८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएकोमा त्यसबाट वार्षिक पाँच हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । ४० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने सम्भावना रहे पनि विस्तार हुन नसकेको भट्टराईको भनाइ छ । अलैँची खेती विस्तार गर्न सके वार्षिक २५ देखि ३० हजार मेट्रिक टन उत्पादन गर्न सकिने र त्यसबाट दस अर्ब रुपियाँसम्म मुद्रा भित्र्याउन सकिने उहाँले जानकारी दिनुभयो । “यसका लागि सरकारले कृषकलाई सहुलियत ब्याजमा ऋण, कृषि प्राविधिकको व्यवस्था गर्नु पर्छ ।” सङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा यस वर्ष अलैँचीको मूल्य तेब्बरले वृद्धि भएको छ । विगतका वर्षमा प्रतिमन अलैँचीको मूल्य ३० देखि ४० हजार रुपियाँ रहेकोमा बढेर प्रतिमन एक लाख १२ हजार रुपियाँसम्म पुगेको छ । सङ्घका अनुसार अहिलेसम्म ४३ जिल्लामा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ । एक लाख २५ हजार परिवार अलैँची खेतीमा आश्रित रहेका छन् ।

विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा सात अर्ब ९४ करोड ९६ लाख रुपियाँ बराबरको आठ लाख ३६ हजार ३८९ केजी, आव २०७९/८० मा आठ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपियाँ बराबरको ९९ लाख ४६ हजार २६२ केजी र आव २०७८/७९ मा चार अर्ब ७७ करोड ८९ लाख ८९ हजार रुपियाँ बराबरको ५२ लाख ९७ हजार ४४३ किलो अलैँची निर्यात भएको थियो ।

नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।