भिडियोः मनोजरत्न शाही र केशव गुरुङ
काठमाडौं, जेठ ११ गते।
परिवारको गाली र दबाबले छोडे पश्चिम खुशीको अभावले
अल्झियो सास सियो धागोमा
बाल्यकालमै पर्यो नि गहिरो चोट
जिउँदो शरीर जल्यो आगोमा।
गायिका धना परियारको जीवनसँग ठ्याक्कै मेल खाने यो गीत उहाँकै मार्मिक आवाजमा गुन्जिएको छ। गीतमार्फत उहाँले आफूले भोग्नुभएका पीडा पोख्नुभएको छ।
२०५७ सालमा तीन वर्षको उमेरमा उहाँ जल्नुभयो। दैलेखमा महिनावारी हुँदा ९ दिनसम्म गोठमा बस्ने चलन छ। धनाकी आमा नामसरा महिनावारी हुँदा धना र उहाँका भाइलाई गोठमा सुताएर घाँस काट्न जानुभएको थियो। त्यसैबेला अचानक छाउगोठमा आगो लाग्यो। छाउगोठमा सुतेका धना र दुई वर्षे भाइ बाहिर आउन सकेनन्। उहाँले भाइलाई आफ्नो जिउले छोपेर जोगाउनुभयो। तर, आगो निभाउन्जेल धनाका दुवै हातका औंला, टाउकाको केही भाग आगोले जलिसकेको थियो। आगोले पोलेपछि बुवाले उहाँलाई न त राम्रो व्यवहार गर्नुभयो न उपचार नै गराउनुभयो।
आमाले अस्पताल लैजान धेरै प्रयास गर्नुभए पनि त्यो बेलामा सम्भव नभएको कुरा उहाँलाई सुनाउनुभएको रहेछ। ‘‘आमाले उपचारका लागि धेरै प्रयास गर्नुभयो। तर, पैसाको अभावले त्यो सम्भव भएन’’, आमालाई सम्झँदै उहाँ भन्नुहुन्छ।
धनाको शरीरमा आगोले पोलेको पीडा समयसँगै विस्तारै निको हुँदै गयो। तर, उहाँ परिवार र समाजको मायाबाट टाढा हुँदै जानुभयो।
“१२ वर्ष धेरै पीडामा बित्यो”, उहाँले भन्नुभयो।
आगोमा जलेकै कारण उहाँ परिवार र समाजको मायाबाट बञ्चित हुनुभयो। “फरक क्षमता भएर समाजमा जिउनुको पीडा भोग्नेलाई मात्र थाहा हुनेरहेछ। परिवार र समाजको मायाबाट बञ्चित हुनुपर्यो”, धना भन्नुहुन्छ, “दाजुभाइले दयाले दिएको मायामा जीवन समर्पित गर्नुपर्ने अवस्थाको सिर्जना भयो।”
काठमाडौं यात्रा
शिक्षक नरबहादुर महताराको सहयोगमा गायिका बन्ने सपना बोकेर धना काठमाडौं आउनुभयो। कलाकार बन्ने सपना बोकेर काठमाडौं आइपुग्नुभएकी धनासँग दाइले भारतबाट दिनुभएको ४० हजार मात्र थियो। त्यो ऋण फिर्ता गर्ने शर्तमा दिइएको थियो। एउटा गीत गाएपछि कलाकार बन्छु भन्ने मात्र बुझेकी धनाका लागि काठमाडौं पुग्नु ठूलो चुनौती थियो। २०७३ सालमा उहाँले काठमाडौंमा पहिलो देउडा गीत रेकर्ड गर्नुभयो।
धनाको रोजाइमा विस्तारै गाउँभन्दा काठमाडौंले प्राथमिकता पाउँदै गयो। आर्थिक रुपमा गा¥हो भए पनि मानिसको घृणामुक्त भएको उहाँले अनुभूति गर्नुभएको छ। “सहरमा एकले अर्काको वास्ता गर्दैनन्। मलाई हेरेर हाँस्ने र ढुङ्गा हान्ने मान्छे सहरमा हुँदैनन्। त्यसैले मलाई सहर मनपर्छ,” धनाले भन्नुभयो।
गीतसँग जोडिएका यात्रा
सानो छँदा धनाको छिमेकीको घरमा रेडियो बज्थ्यो। उहाँको दाइले टेप रेर्कडर किनेर ल्याउनुभएको थियो। त्यसमा विभिन्न गीत बज्थ्यो। गीत सुन्दासुन्दै उहाँलाई सङ्गीतको मोह जाग्यो। आगोको लप्काले उनको अनुहार र शरीर जलाए पनि उनको स्वर जलेको छैन। तर, आफ्नो अनुहारकै कारण खुबी हुँदाहुँदै पनि गायन क्षेत्रबाट टाढा रहनुपरेको उहाँको अनुभव छ।
आमा छाउगोठ बस्नुपर्ने बाध्यताका कारण आफू जलेको भन्दै उहाँ अहिले छाउगोठ भत्काउनुपर्ने बताउनुहुन्छ। आफूले जस्तो समस्या अरुले भोग्नु नपरोस् भन्दै उहाँले सबै छाउगोठ भत्काउने सपना साँच्नुभएको छ।
छाउगोठ भत्काउनेसँगै उहाँ छोरी, जातीय विभेद र अपाङ्ग हुनुको पीडालाई रोक्न आवाज उठाएर लड्नका लागि कानुन विषय पढ्ने योजनामा हुनुहुन्छ।