• २० कात्तिक २०८२, बिहिबार

सुशासनसहित निर्वाचन मुख्य प्राथमिकतामा

blog

चन्द्रपुर समाचारदाता 

चन्द्रपुर (रौतहट), कात्तिक २० गते । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउनु प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । 

उहाँले बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटको सभाहलमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा जेनजी आन्दोलनको भावना तथा विद्यमान नेपालको कानुन अनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचनसफल पार्न राजनीतिक दल, नागरिक समाजका साथै युवापुस्तासँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी भुसालले मानव अधिकारको रक्षाका लागि महिला हिंसा, लागुपदार्थ तथा जातीय विभेदविरुद्ध अभियानका रूपमा जिल्ला प्रशासन कार्यालयले गतिविधिहरू सञ्चालन गर्ने स्पष्ट पार्नुभयो । उहाँले विकासनिर्माणका काममा सहजीकरण गर्नेदेखि लिएर स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारीसँग  समन्वय गर्दै  जनतालाई छिटोछरितो सेवा प्रवाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले निजी क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादन बढाउन उद्यमी र सुरक्षा निकायबिच अन्तर्वि्रmया गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “अबका दिनमा समाचार लेखेका भरमा कुनै पत्रकार पीडित हुने अवस्था आउने छैन ।” 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्कीले खुला सिमानाका कारण लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले आपराधिक व्रिmयाकलाप नियन्त्रण तथा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पार्न नेपाल प्रहरीले सव्रिmयता बढाउने स्पष्ट पार्नुभयो । 

सशस्त्र प्रहरी बल रौतहटका गणपति रामहरि अधिकारीले सीमित स्रोतसाधनमा  सीमा सुरक्षा, भन्सारमा राजस्व वृद्धिका लागि चोरी निकासी रोक्ने कामका साथै विपत्को समयमा जनता उद्धार, सहयोग गर्न सशस्त्र प्रहरी सक्रिय रहेको जानकारी दिनुभयो । कार्यक्रमा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले इच्छाशक्ति भए राम्रा काम गर्न कुनै समस्या नरहेको बताउनुभयो ।