• २० कात्तिक २०८२, बिहिबार

दुर्घटना रोक्न ट्राफिक सचेतना

blog

पुथाउत्तरगङ्गा–१० तकसेरामा ट्राफिक प्रहरीले दुर्घटना रोक्न सचेतना कार्यक्रम गर्दै । तस्बिरः ट्राफिक प्रहरी रुकुमपूर्व ।

जयमान बुढामगर

रुकुमपूर्व, कात्तिक २० गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका– १० तकसेरामा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ ।

तकसेरामा जिल्ला प्रहरीसँगको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तकसेराले सवारी दुर्घटना रोक्न सचेतना कार्यक्रम गरेको हो ।

“हाम्रो सडक मेरो सवारी, ट्राफिक नियमको पालनामा मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ सवारी चालक तथा यात्रुलाई सुरक्षित यात्रा कसरी गर्ने, दुर्घटनाबाट कसरी बच्न सकिन्छ, कम गतिमा सवारी साधन चलाउन र ट्राफिक नियमको पालना किन महत्त्वपूर्ण छ भन्ने लगायत विषयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । 

सवारी चाप बढ्दै जानु र चालकले ट्राफिक नियम पालना नगर्ने हुँदा सडक दुर्घटना बढ्दै गएकाले सचेतना कार्यक्रम गराइएको थापाले बताउनुभयो । 

दुर्घटना रोक्न ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरिराखेको थापाको भनाइ छ ।

रुकुमपूर्वमा पनि सवारी साधन दुर्घटनाका घटना बेलाबेलामा भइरहेकोले सवारी चालकले सावधानी अपनाएर यात्रुलाई सुरक्षित र भरपर्दो यात्रा गराउन समेत थापाले अपिल गर्नुभएको छ ।