अमरराज नहर्की
तनहुँ, कात्तिक २० गते । म्याद तीन पटक थपिँदासमेत निर्माण कार्य पूरा गर्न नसक्दा तनहुँको नमुना पशुपन्छी अस्पताल अलपत्र बनेको छ ।
ठेकेदार कम्पनीले काम अधुरै छाडेर सम्पर्कविहीन भएपछि अस्पतालको निर्माण रोकिएको छ । कात्तिक मसान्तसम्म थपिएको अन्तिम म्याद सकिन लाग्दा भवन निर्माणमा कुनै प्रगति भएको छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रविनसन अधिकारीका अनुसार, ठेक्का सम्झौताअनुसार अस्पतालको निर्माण कार्य गत पुसमै सम्पन्न हुनुपर्ने थियो ।
तर ढिलाइ हुँदै गएपछि असार मसान्त र त्यसपछि कात्तिक मसान्तसम्म म्याद थपिएको थियो । “म्याद थपिँदा पनि कम्पनीले कुनै काम नगरी सम्पर्कमै नआएपछि अब ठेक्का तोड्ने अवस्था आएको छ,” अधिकारीले गुनासो पोख्नुभयो ।
चितवनस्थित इको बिल्डर्सले निर्माण जिम्मा लिएको थियो । अहिले सम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको र ५५ प्रतिशत भुक्तानी भइसकेको भए पनि ठेकेदार कम्पनीले बाँकी काम छाडेर गरेको अधिकारीले बताउनुभयो ।
दमौलीस्थित यो अस्पताल अहिले अलपत्र र बिग्रँदै गएको अवस्थामा छ । जब कि पोखरामा ठ्याक्कै एउटै समयमा सुरु गरिएको पशुपन्छी अस्पताल निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।
भन्नुहुन्छ, “एकै समयमा सुरु भएको काम पोखरामा सम्पन्न भइसकेको छ, तर दमौलीमा ठेकेदारको लापरबाहीले किसान सेवा लिनबाट वञ्चित छन् ।”
गण्डकी प्रदेश सरकारले भ्याटबाहेक करिब चार करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । बहुवर्षीय योजनाअन्तर्गत यस अस्पताललाई विस्तार गर्दै लैजाने योजना भए पनि काम रोकिएपछि योजना सङ्कटमा परेको छ ।
अस्पताल सञ्चालनमा आएपछि तनहुँसँगै गोरखा, लमजुङ, नवलपुरलगायत जिल्लाका किसान लाभान्वित हुने अपेक्षा गरिएको थियो ।
पशुधनमा देखिने रोगको रोकथाम र उपचारमा सहजता ल्याउने लक्ष्यसहित डेढ वर्षअघि सञ्चालनमा ल्याउनुपर्ने भवन अहिले तीन वर्षसम्म पनि पनि अधुरै छ ।
अधिकारीले थप भन्नुभयो, “ठेकेदारको गैरजिम्मेवार व्यवहारका कारण न त अस्पताल सञ्चालनको आशा बाँकी छ न किसानले सेवा पाएका छन्, सरकारले अब वैकल्पिक उपाय खोज्न जरुरी छ ।”