• १६ भदौ २०८१, आइतबार

उपत्यकामा माओवादी केन्द्रको उपस्थिति शून्य

blog

काठमाडौँ, जेठ ९ गते । सङ्घीय राजधानी रहेको काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ वटा स्थानीय तहमध्ये एउटामा पनि माओवादी केन्द्रको नेतृत्व आउन सकेन । काठमाडौँ, ललितपुर र भक्तपुरका कुनै पनि स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुनसकेन । गठबन्धनका तर्फबाट उम्मेदवारी दिँदासमेत माओवादी केन्द्रका उम्मेदवारले पराजय भोग्नुप-यो ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट माओवादीले प्रमुखको उम्मेदवारी पाएको थियो तर निर्वाचित हुनसकेन । गठबन्धनबाटै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भने विजयी भए ।  काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा माओवादीको तर्फबाट प्रमुख तथा उपप्रमुख दुवै छैन । ललितपुरको बागमती र महाँकाल गाउँपालिकामा मात्रै माओवादीले उपाध्यक्षमा जितेको छ भने भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि उपप्रमुख जितेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेससँग गठबन्धन गरी उपप्रमुखमा उम्मेदवारी दिएको थियो । प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भए पनि उपप्रमुखमा माओवादीका उम्मेदवार पराजित भए । माओवादीले एकीकृत समाजवादीसँग तारकेश्वर र गोकर्णेश्वर नगरपालिकामा गठबन्धन गरेको थियो तर दुवै नगरपालिकामा माओवादीको पराजय भयो । 

माओवादीले गठबन्धनका तर्फबाट काठमाडौँका १० नगरपालिकामध्ये कुनैमा पनि प्रमुखको उम्मेदवारी पाएको थिएन । गठबन्धनबाट प्रमुख र उपप्रमुख नपाएपछि एकल उम्मेदवारी दिएको थियो । टोखा, कीर्तिपुर, नागार्जुन, शङ्करापुर र बूढानीलकण्ठ नगरपालिकामा माओवादीबाट एकल उम्मेदवारी परेको थियो तर सबैमा पराजय नै बेहोर्नुपयो । 

२०७४ सालको निर्वाचनमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका स्थानीय तहमा माओवादी केन्द्र ललितपुरको कान्ञ्योसोम गाउँपालिकामा मात्र विजयी भएको थियो । अहिले उक्त गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भयो भने उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भयो । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला इन्चार्ज हिमाल शर्माका अनुसार पहिलाको तुलनामा मत सङ्ख्या बढे पनि जित हासिल हुुनसकेन । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका तीन जिल्लामा गठबन्धन थिएन, केही पालिकामा तालमेल भए पनि प्रभावकारी भएन । परिणाम हेर्दा माओवादीको जनाधार कमजोर देखियो, विगतको चुनावमा पनि यस्तै अवस्था थियो ।”  

काठमाडौँ र ललितपुर महानगरपालिकाबाहेकका १९ स्थानीय तहमा नेपाली कांग्रेसले १२ वटामा प्रमुख तथा अध्यक्ष जितेको छ । आठवटा स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । 

त्यसैगरी नेकपा एमालेले पाँच स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जितेको छ भने सातवटामा उपप्रमुख जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटामा प्रमुख जितेको छ । नेपाल मजदुर किसान पार्टीले प्रमुख/उपप्रमुख एक/एक स्थानमा जितेको छ । माओवादी केन्द्रले दुुईवटा उपप्रमुख/उपाध्यक्ष जितेको छ । 

चार जना पत्रकार निर्वाचित

यसैबीच नुवाकोट समाचारदाताका अनुसार स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटमा विगतमा पत्रकार पृष्ठभूमि भएका चार जना निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिव अधिकारी तारकेश्वर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ । 

अधिकारीले पाँच हजार ६६५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत प्राप्त गर्नुभयो । अधिकारी गन्तव्य नेपाल न्युजका अध्यक्ष एवं प्रधानसम्पादक हुनुहुन्थ्यो ।