• २६ साउन २०८२, सोमबार

धार्मिक सम्प्रदायभन्दा माथि गाईजात्रा

blog

भक्तपुरमा निकालिएको गाईजात्रा । तस्बिर : सुजन गुरुङ

काठमाडौँ, साउन २६ गते । गाईजात्रा (सापारु) पर्व धार्मिक सम्प्रदाय र धार्मिक मतभन्दा माथि उठेको प्राचीनकालीन पर्व रहेको संस्कृतविद्हरूले बताएका छन् । हुन पनि नेवार जातिमा सुरु भएको गाईजात्रा अहिले सबै जातजातिले मनाउन थालेका छन् । राष्ट्रिय पर्व जस्तै भएको छ । जातजाति, समुदाय, कलाकार, नेता, सञ्चार माध्यम सबै क्षेत्रलाई गाईजात्रा लाग्ने गरेको छ । 

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ भन्नुहुन्छ, “प्राचीनकालदेखि चलेको पर्व गाईजात्रा धार्मिक सम्प्रदाय र धार्मिक मतबाट माथि उठेको छ । पछिल्लो समय निश्चित जात र भूगोलभन्दा पनि सबै जातजाति र धर्ममा फैलिएको छ । नयाँ पुस्ता पनि यसमा आकर्षित छ ।” 

गाईजात्रा वास्तवमा मृत्यु गणना रहेको संस्कृतिविद् बताउँछन् । मल्लकालमा एक वर्षमा कति मान्छेको मृत्यु भयो भनेर गाईजात्रामा तथ्याङ्क निकाल्ने गरिन्थ्यो । मृत्युको गणना गर्ने काम पनि रमाइलो र ठट्यौली पाराले गरियो, जसलाई गाईजात्रा भनिएको संस्कृतिविद्हरूको दाबी छ ।  

संस्कृतिविद् तेजेश्वरबावु ग्वंगः ले भन्नुभयो, “मल्लकालीन अवस्थामै ठाउँ ठाउँमा डिपो राखेर कति केटाकेटी कति बुढाबुढी मरे भनेर टिपोट गरिन्थ्यो । यो वास्तवमा मृत्यु गणना हो । मृत्यु गणना गर्ने काम पनि मान्छेहरू सहभागी भएर रमाइलो गर्दै, हाँस्दै गरिन्छ ।”

केटाकेटीको मृत्यु भएमा केटाकेटीकै कपडा लगाएर डोकोमा राखेर गाउँ परिक्रमा गरेर गाईजात्रा मनाइने गरेको ग्वंगःले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “गाईजात्रा मृत्यु गणना हो तर कति रुने ? रोएर मात्र हुँदैन, आँसु मेट्नु पर्छ । नाचगान गरेर हँसाउनु, रमाउनु पर्छ भन्ने यसको सन्देश हो ।” 

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा नेवार समुदायले धुमधामका साथ मनाउने पर्वमध्ये एक हो गाईजात्रा । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाइने गरिन्छ । गाईजात्रा हास्यव्यङ्ग्य गर्ने अवसर पनि रहेको उहाँको भनाइ छ । 

संस्कृतिविद् ग्वंगःले भन्नुभयो, “समाज र परिवारलाई शोकबाट निवारण गर्नु पर्छ । हास्यव्यङ्ग्य गरेर रमाउनु पर्छ र शोकमा मात्र बस्नु हुँदैन भनेर गाईजात्रा सुरु भएको हो ।  सरकारले बिदा दिएको छ, यो राम्रो कुरा हो । गाईजात्रालाई हास्यव्यङ्ग्यका रूपमा मात्र लिनुभन्दा पनि सांस्कृतिक–सामाजिक एकताको मर्म र भावलाई ग्रहण गर्नु पर्छ ।”

नेवार जातजातिको नयाँ पुस्ता र पछिल्लो समय अन्य समुदायले पनि गाईजात्रा मनाउन थालेका छन् । आधुनिकताले पनि यसलाई खासै प्रभाव नपारेको र पुस्तान्तरणमा पनि खासै समस्या नदेखिएको बरु अन्य समुदायमा पनि फैलिएको संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठको भनाइ छ ।     

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन सुरु गरेको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।