जानकी (बाँके), फागुन ८ गते । नेपालगन्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगन्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ । महोत्सवमा सहभागी साइक्लिस्टले बाँकेको विभिन्न स्थानको भ्रमण गर्ने छन् भने शनिबार बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रमा पुग्ने छन् ।
यस क्षेत्रमा साइकलिङलाई प्रवर्धन गर्दै स्वस्थ जीवनशैली, पर्यावरण संरक्षण, पर्यटन विकास तथा सामाजिक सचेतनामा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।
आयोजकका अनुसार महोत्सवको पहिलो दिन वाटरपार्क, कान्तिताल, सिद्धीविनायक लायन्स पार्क हुँदै कोहलपुरमाको खडगवार हात्तीसार, बाँके राष्ट्रिय निकुञ्जसँगै सुतैया तलाउको भ्रमण गरी गाभर भ्यालीमा टोली पुग्ने छ । साइकल र्यालीले विभिन्न जनचेतनामूलक गतिविधि, स्वास्थ्य तथा वातावरणसम्बन्धी सन्देश प्रवाह तथा प्रतिस्पर्धात्मक साइकल दौड सञ्चालन गर्ने छ । आयोजनका अनुसार साइक्लिस्टले नेपालगन्जदेखि ठाकुरद्वारासम्मको यात्रा मार्गमा पर्ने विभिन्न स्थानमा स्थानीय संस्कृति, पर्यटकीयस्थल तथा सामाजिक गतिविधिको प्रवर्धन गर्ने छन् ।
कार्यक्रममा स्वदेशी तथा विदेशी साइक्लिस्टको सहभागिता छ । साइकल यात्राले पर्यटन प्रवर्धनका साथै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममार्फत सामाजिक, सांस्कृतिक तथा आर्थिक सहकार्य विस्तार गर्दै प्राकृतिक सम्पदाको संरक्षणमा जनचेतना अभिवृद्धि गरिने बताइएको छ । महोत्सवमा २५० जना साइक्लिस्टको सहभागिता छ । रासस