• ७ फागुन २०८२, बिहिबार

समृद्ध मधेश निर्माणमा एकजुट हुन मुख्यमन्त्री यादवको आह्वान

blog

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव । तस्बिरः लक्ष्मी चौधरी ।

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन ७ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र पारदर्शितालाई सुदृढ बनाउँदै समृद्ध मधेश तथा समुन्नत नेपाल निर्माणमा एकजुट हुन आह्वान गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री यादवले नेपाली जनताको बलिदानी सङ्घर्ष, त्याग र समर्पणबाट प्राप्त प्रजातन्त्रको ऐतिहासिक महत्त्व स्मरण गर्नुभएको हो । प्रजातन्त्र स्थापनाका क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्ने ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शहीद परिवारप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

सन्देशमा मुख्यमन्त्री यादवले प्रजातन्त्रलाई जनताको अधिकार, स्वतन्त्रता, समानता र सहभागिताको आधारका रूपमा व्याख्या गर्नुभएको छ । संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र प्रभावकारी बनाउन सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

मधेश प्रदेश सरकार सुशासन, सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिको लक्ष्यसहित अघि बढिरहेको जनाउँदै उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा रोजगारीका क्षेत्रमा गरिएका पहलमार्फत प्रजातन्त्रको प्रतिफल जनतासम्म पुर्‍याउने दृढता व्यक्त गर्नुभयो ।

यस ऐतिहासिक अवसरले विगतका सङ्घर्षहरूको स्मरण गराउँदै वर्तमानमा उत्तरदायी र भविष्यप्रति आशावादी बन्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री यादवले लोकतान्त्रिक प्रणालीलाई व्यवहारमा प्रभावकारी बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।