राजन रावत
हुम्ला, फागुन ८ गते । चुनावी प्रचार गर्ने आआफ्नै शैली र तरिकाहरू फागुन २१ गतेको प्रतिनिधिसभाको सदस्य निर्वाचनका लागि हुम्ला जिल्लामा पनि देखिएको छ ।
उम्मेदवार र दलका नेता कार्यकर्ता मिलेर एउटा गाउँमा सामूहिक फलफूलका बिरुवा लगाउने कार्यमा जनश्रमदानका लागि खटिएर ती उम्मेदवारले नयाँ तरिकाबाट मतदाताको मन जित्ने प्रयास गर्नुभएको हो ।
उक्त निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार कुम्भ बूढा र उहाँको चुनावी प्रचारका लागि गाउँगाउँमा मतदाता भेट्न खटिएको टोलीले खाली जग्गामा खाल्डो खनेर सामूहिक खेतीका लागि फलफूलका बिरुवा रोप्ने कार्य गर्नुभएको हो ।
नेकपा माओवादी पार्टीको केन्द्रीय नीति अनुसार हुम्ला जिल्लामा पनि मतदाता भेट्ने कार्यसँगै बिरुवा लगाउने कार्य सुरु भएको उहाँले बताउनुभयो ।
बिहीबार उहाँको नेतृत्वमा रहेको चुनावी प्रचार प्रसार टोलीले खार्पुनाथ गाउँपालिका– १ को पिउस गाउँमा दुई सय बोट स्याउ र ओखरका बिरुवा लगाउनुभएको हो ।
हुम्लामा यो नयाँ र फरक शैलीबाट मतदाता भेट्ने र मन जित्ने कार्य भएको सो पार्टीका उम्मेदवारले गरेको सञ्चारकर्मी नरजन तामाङले बताउनुभयो ।उहाँले आफू मात्र नभएर गाउँगाउँमा मतदाताहरूलाई यसरी खेतीपाती गर्न आग्रह समेत गर्न थालेको उहाँले बताउनुभयो ।
उम्मेदवार बुढाको टोलीले अब गाउँगाउँमा यसरी सामूहिक खेतीका लागि फलफूलका बिरुवा लगाउने कार्य जारी राख्ने जनाएको छ ।