काठमाडौँ, फागुन ८ गते । दलित समुदायबाट प्रत्यक्षतर्फको चुनावी मैदानमा उत्रिएका करिब २३२ जनामा झन्डै ५० प्रतिशत स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्रमा पनि अधिकांश युवा उम्मेदवार छन् । पहाडमा भन्दा मधेश र सहरी क्षेत्रका दलितले बढी मात्रामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रत्यक्षतर्फको १६५ सिटका लागि ६५ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४९० उम्मेदवार चुनावी मैदानमा हुँदा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित चुनावी मैदानमा छन् । तथ्याङ्क अनुसार २३२ जनामा करिब ११२ स्वतन्त्र उम्मेदवार रहेको समता फाउन्डेसन र डिग्निटी इनिसिएटिभको अध्ययनले देखाएको छ ।
११२ स्वतन्त्र उम्मेदवारमध्ये करिब २५ जना दलित महिला रहेका छन् । ११२ मा झन्डै ५५ जना मधेश प्रदेशका दलित स्वतन्त्र उम्मेदवार छन् । धनुषा, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, सुनसरी, रुपन्देही, काठमाडौँ र मोरङ जस्ता जिल्लामा दलितले धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलितको सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारी सिराहा, धनुषा र सप्तरीमा छ । चार वटा निर्वाचन क्षेत्र रहेको सिराहा क्षेत्र नं. १ मा भोला पासवानले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सिराहा–१ बाटै बालेश्वर दास तत्मा र दिनेश पासवान स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । सिराहा–३ मा चार जना दलितले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आनन्द विश्वकर्मा, विजयकुमार राम, वैजनाथ कामी र दिलीपकुमार पासवान चुनावी मैदानमा हुनुहुन्छ ।
सिराहा–४ मा चार जनाले उम्मेदवारी दिएका छन् । उमेशकुमार राम, भागेश्वर राम, नथुनिया सदा र केदार विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पूर्वसांसद शम्भुहजरा पासवान भन्नुहुन्छ, “मधेशमा दलित प्रत्यक्षमै स्वतन्त्र लड्न तयार हुनुको प्रमुख कारण दलहरूले भोट बैङ्कका लागि मात्र प्रयोग गर्नु हो । त्यहाँ राम समाज, चमार समाज जस्ता सबैको आआफ्नो समाज छ । सबैले प्रतिनिधित्व खोज्छन् । राजनीतिक चेतना पनि बढेको मान्नु पर्छ । पछिल्ला राजनीतिक घटनाले पनि प्रभाव पारेको हुनु पर्छ तर स्वतन्त्रले जित्ने सम्भावना कम हुन्छ ।” धनुषामा पनि १२ जना दलितले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनुषा–१ मा पाँच जना सुमन विश्वकर्मा, चन्द्रेश्वर दास तत्मा, औतीकुमारी विश्वकर्मा, किरणकुमारी पासवान र रामप्रित दास तत्माले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
धनुषा–२ मा पनि पाँच जना दलितले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ठगना पासवान, रामकिशोर पासवान, भोला पासवान, डोमी महरा चमार र रामशुवेष खत्वे स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । धनुषा–३ मा भने दुई जना आनन्द दास तत्मा र अरविन्दकुमार पासवानले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सप्तरी–१ मा तीन जना जगदेव सदा, उमादेवी सदा र रामकुमारी खङ, सप्तरी– २ मा किसुनदेव राम र साधना दास, सप्तरी–३ मा चार जना हरिनारायण पासवान, ओमप्रकाश विश्वकर्मा, कोशिलादेवी पासवान र रजियादेवी सदाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
महोत्तरी–१ मा दुई जना रामेश्वर पासवान, सोमिन्द्रा सार्की, महोत्तरी–२ मा तीन जना महन्थ सदा, अधनु पासवान र ललित मुसहर, महोत्तरी–३ मा रामचन्द्र पासवान तथा महोत्तरी–४ मा राजन पासवान, राजेन्द्र खत्वे, सिंहेश्वर खत्वे, महिन्दर पासवान र हरदेव चमार गरी पाँच जना स्वतन्त्रले उम्मेदवारी दिनुभएको छ । सर्लाही–१ मा मोहन पासवान र माधो पासवान तथा सर्लाही–२ मा तेजनारायण मुसहर, सर्लाही–३ मा रामचन्द्र चमार र सर्लाही–४ मा सञ्जीवकुमार पासवान उम्मेदवार हुनुहुन्छ ।
मोरङ–१ मा प्रेम बर्देवा, सुनसरी–१ मा सुवास विश्वकर्मा र सुनसरी–२ मा डम्बर बराइलीले उम्मेदवारी दिनुभएको छ । सुनसरी–४ मा राजेश विश्वकर्मा र महेन्द्र सेन्चुरी उम्मेदवार हुनुहुन्छ । दोलखामा रमिता सार्कीले स्वतन्त्र उम्मेदारी दिनुभएको छ भने सिन्धुली–१ मा अमृतकुमार विश्वकर्मा र सिन्धुली–२ मा सरोज विकले उम्मेदवारी दिनुभएको छ ।
काठमाडौँका १० निर्वाचन क्षेत्रमा पाँच जना दलितले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौँ–४ मा सञ्जीव दर्जी, काठमाडौँ–५ मा क्यामुना मिजार, काठमाडौँ–८ मा सुशीला नेपाली, काठमाडौँ–१० मा कृष्णकुमारी नेपाली र सुलोचना परियार उम्मेदवार हुनुहुन्छ । रौतहट–३ मा तीन जना सुरेन्द्र बैठा, कृष्णराम चमार र पिन्टुदास तत्मा, बारा–३ मा सुनील पासवान, बारा–४ मा राजदेव दुसाध र पर्सा–२ मा साहेबप्रसाद रामले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै स्याङ्जा–१ मा मनोज दर्जी, गुल्मी–१ मा सूर्यबहादुर सुनार र कृष्णबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । रुपन्देही–१ मा सचिव विक, टकबहादुर विक र रुपन्देही–२ मा दिलीपकुमार सुनार, रुपन्देही–३ मा दीपकबहादुर दर्जी र रुपन्देही–५ मा वसन्ती चमारले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कपिलवस्तु–३ का स्वतन्त्र उम्मेदवार चिन्ताबहादुर दर्जीले भन्नुभयो, “दलले वञ्चित गरेका कारण स्वतन्त्रमा दलितको उम्मेदवारी बढेको हो । युवा राजनीतिमा आउन चाहन्छन् तर रोकिन्छ । मेरो प्रमुख एजेन्डामध्ये एउटा ‘राइट टु रिकल’ हो । राम्रो काम नगरे फिर्ला बोलाउन पाउनु पर्छ ।”
दाङ–३ मा सुरेश नेपाली र भरत परियार स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । कालीकोटमा मानबहादुर तिरुवा, सुर्खेत–२ मा रमेश परियार र उदीराम, बाँके–३ मा भीमबहादुर सुनार, कैलाली–२ मा राजेशमयाल विक तथा कञ्चनपुर–१ मा मञ्जुदेवी सुनार स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । नवलपरासी–१ मा तीन जना होमबहादुर सुनार, शैलेन्द्र सदाशङ्कर र गोपीचन्द्र हरिजन हुनुहुन्छ । नवलवरासी–२ मा पनि तीन जना दामोदर सुनार, हरिनारायण हरिजन र मनोज हरिजनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।